Logo

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता



म्याग्दी, ३१ जेठ । जिल्ला सदरमुकाम बेनीमा आज आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ ।

अमरसिंह माविमाका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थीे समुूलाई पराजित गरेको थियो ।

बीस ओभरमा खेलाइएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको कास्कीको समूहले १८३ रनको लक्ष्य लिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको म्याग्दीका दृष्टिविहीनको टोली जम्मा ९२ रनमा समेटिएपछि कास्कीको टोली विजयी भएको हो ।

प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपाङ्ग सङ्घले अपाङ्गता भएका बालबालिकाको लागि जिल्लामै पहिलो पटक आयोजना गरेको खेलकुद प्रतियोगितामा दृष्टिविहीनको क्रिकेट प्रतियोगिता समावेश गरेको थियो ।

यसैगरी आयोजित बहिराबीचको फुटबलमा प्रतियोगितामा बागलुङस्थित धौलागिरि बहिरा आवासीय माविले बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि मावि बहिरा स्रोतका विद्यार्थी टोलीलाई ३ का विरुद्ध ६ गोल गर्दै विजयी भएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, अपाङ्ग सङ्घ म्याग्दी शाखाका अध्यक्ष गोपाल केसीले पुरस्कार संयसक्तरुपमा क्रिकेटमा विजयी कास्कीको दृष्टिविहीनको टोलीलाई नगद रु चार हजारसहित र फुटबलमा विजयी बागलुङको बहिरा विद्यार्थीको समूहलाई नगद रु पाँच हजारसहित पदक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्