Logo

आमसञ्चारमाध्यममा निर्वाचन समाचार प्राथमिकतामा



(नारायण न्यौपाने) : काठमाडौँ, ३ असार । आमसञ्चारमाध्यमले पहिलो चरणको स्थानीय तह निर्वाचनमा निर्वाचनसम्बन्धी समाचार र निर्वाचन आयोगका विषयवस्तुलाई अधिक स्थान दिएको अनुगमनबाट पुष्टि भएको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा आमसञ्चारमाध्यमको अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले गरेको अनुगमनमा सबै खाले सञ्चारमाध्यमले निर्वाचनसम्बन्धी समाचारलाई प्राथमिकताका साथ महत्वपूर्ण स्थान दिएर प्रचारप्रसार गरेको पाइएको हो ।

देशमा प्रकाशन र प्रसारणमा रहेका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमध्ये स्थानीय निकायको निर्वाचनलाई केन्द्रित गरेर काउन्सिलले १० टेलिभिजन, ४२ एफएम रेडियो, ३६ अनलाइन, १२ राष्ट्रिय दैनिक र ५६ साप्ताहिक पत्रिकालाई अनुगमनका लागि छनोट गरेको थियो ।

उक्त अवधिमा टेलिभिजनबाट प्रसारण भएका समाचारमध्ये ३८ प्रतिशत निर्वाचन सम्बन्धित तथा २६ प्रतिशत निर्वाचन आयोग र त्यहाँका पदाधिकारीसँग जोडिएका समाचार प्रसारण भएका थिए ।

टिभी, रेडियो र पत्रपत्रिकामा एमाले

नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), सरकार, साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका समाचारले क्रमशः स्थान पाएको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ । काउन्सिलले निर्वाचनको मौनअवधिअघि ६५ आम सञ्चारमाध्यमका १२४ सामग्री तथा मौनअवधिमा ४० सञ्चारमाध्यमका ८२ निर्वाचनसम्बन्धी समाचारको अनुगमन गरेको थियो ।

मतदानपछिको नौ दिनमा ५६ सञ्चारमाध्यमका ८१सामग्रीको अनुगमन गरिएको काउन्सिलले जनाएको छ । काउन्सिलले भनेको छ– “आमसञ्चारमाध्यमको सकारात्मक प्रभाव परेको कारण निर्वाचनको अपरिहार्यतालाई दरो रुपमा उजागर गरेको छ, समग्रमा भन्दा स्थानीय तहको निर्वाचनमा आमसञ्चारमाध्यमको यथेष्ट साथ र सहयोग रहेको छ ।”

मुलुकमा नियमति प्रकाशित पत्रपत्रिकाको सङ्ख्या एक हजार, प्रसारण भइरहेको टेलिभिजन एक सय र एफएमको सङ्ख्या सात सयको हाराहारीमा रहेको काउन्सिलले जनाएको छ । काउन्सिलमा सूचीकरण भएको अनलाइन सञ्चारमाध्यमको सङ्ख्या छ सय ५० छ ।

त्यस्तै रेडियोको ‘कभरेज’मा पनि निर्वाचनसँग सम्बन्धित सबैभन्दा बढी परेको थियो । त्यसपछि क्रमशः आयोग र आयोग पदाधिकारी, एमाले, काँग्रेस, माओवादी केन्द्र, राप्रपा, सरकार, स्वतन्त्र उम्मेदवार, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति, सङ्घीय समाजवादी, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, जनजागरण पार्टी, विवेकशील नेपाली दलका समाचार प्रसारण भएका थिए ।

स्वतन्त्र, स्वच्छ निर्वाचनमा आमसञ्चारमाध्यमको सक्रिय सहभागिता अपरिहार्य हुने बताउँदै काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल भन्नुहुन्छ– “निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा सफल तुल्याउन आमसञ्चारमाध्यमको सक्रिय सहभागिता अपरिहार्य हुन आउँछ ।”

अनलाइनमा भने एमालेको तुलनामा नेपाली काँग्रेससँग सम्बन्धित समाचार बढी समेटिएको थियो । निर्वाचन घोषणा भएपछि पत्रपत्रपत्रिकामा प्रकाशित समाचारमध्ये सबैभन्दा धेरै निर्वाचनका गतिविधि, निर्वाचन आयोग र पदाधिकारीलाई उद्धृत गरिएका समाचार छापिएका थिए भने एमाले, काँग्रेस, माओवादी केन्द्र र राप्रपालाई पनि प्राथमिकतामा राखेर समाचार सम्प्रेषण भएको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचनसँग सम्बन्धित समाचार निष्पक्ष रुपमा सत्यतथ्यमा आधारित भएर सम्प्रेषण, आयोगसँग सम्बन्धित समाचार प्रवक्ताबाट पुष्टिपछि मात्र प्रकाशन र प्रसारण गर्न तथा विभिन्न राजनीतिक दल तथा उम्मेदवारले उल्लङ्घन गरेको आचारसंहिताको विषयलाई प्राथमिकताका साथ समाचार बनाउन आयोग र प्रेस काउन्सिलले आमसञ्चारका माध्यमलाई सुझाव दिँदै आएका छन् ।

एक सय सञ्चारमाध्यमलाई ध्यानाकर्षण

काउन्सिलले निर्वाचन आचारसंहिता उल्ङ्घन गर्ने ८५ पत्रपत्रिका, सात टेलिभिजन, पाँच एफएम रेडियो र ३६ अनलाइनलाई आगामी दिनमा यस्तो घटना नदोहो¥याउन ध्यानाकर्षण गर्दै सचेत गराएको छ ।

केही छापामाध्यमले आचारसंहिता विपरीतका सामग्रीका सम्बन्धमा ध्यानाकर्षण गराउँदा समेत अवज्ञा गरेको जनाउँदै काउन्सिलले त्यस्ता संस्था कारबाहीको प्रक्रियामा रहेका जनाएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा गत वैशाख ३१ गते भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्