Logo

‘म हुँ नेपाली’ नामक गीतको विमोचन-(भिडियोसहित)



काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाली काँग्रेसका नेता महेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालको सहमतिमै प्रदेश नम्बर दुईको निर्वाचनको मिति सारिएको दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा गायक बासुदेव रेग्मी ‘सप्तरंगी’को राष्ट्रिय गीतको बिमोचन गर्दै यादवले यस्तो दाबी गरेका हुन् । उक्त गितको विमोचन भने नेता यादव र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुक्त रुपमा गरेका हुन् ।

विमोचनपछि संक्षिप्त भनाई राख्दै उनले राजपासँग पूर्ण सहमति गरेर नै सरकारले तेस्रो चरणको निर्वाचनको मिति सार्वजनिक गरेको दाबी गरे । उनले भने,‘अब मधेशी जनता कुनैपनि हालतमा निर्वाचनमा जान्छन्, आज मोर्चासँग जनमत नभएको भन्ने उदाहरण आउँदैछन्, मोर्चाका जायज मागहरुलाई सम्बोधन गरेर सरकार निर्वाचको वातावरण बनाउन तयार छ, यसमा मोर्चाले लचकता देखाउनुपर्छ, काँग्रेस मुलुकलाई निकास दिनको लागि पुर्ण क्रियाशिल छ।’

उनले आफ्नो पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुरसँगको सहमति अनुसार नै प्रदेश नम्बर २ को निर्वाचन सारिएको ठोकुवा गरे । उनले तराई मधेशमा राजपा नेपालले कुनैपनि हालतमा निर्वाचन विथोल्न नसक्ने ठोकुवा नै गरे । उनले भने,‘यदि विथोल्ने प्रयास गरे, राजपा नेपाल मधेशमा समाप्त हुन्छ, पछिल्लो समय राजपाको जनमत घटिरहेको छ।’

नेता यादवले बिमोचित गीतका बारेमा टिप्प्णी गर्दै भने,‘गायक रेग्मीले जुन प्रकारको गीत बजारमा ल्याउनु भएको छ्, यो आजको आवश्यकता हो, नेपाली–नेपालीबीचको एकता र भातृत्वलाई एक बनाउन यो गीतले ठुलो भूमिका खेल्नेछ, नेपालीबीचको एकता र भावना अटुट राख्नकोलागि यस्ता सिर्जना गर्दै जानुहोस् भन्ने मेरो शुभकामना छ।

त्यस्तै रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले गायक बासुदेव रेग्मीको सिर्जनाको खुलेर प्रसंशा गरेका थिए। उनले भने,‘उहाँ हिजो डेउडा गीतमा आवाज भर्नुहुन्थ्यो, आज आएर मुलुक विभाजित हुन लागेको हो की ? कतै देश दिशा विहिनतामा जान लागेको हो की जस्ता विराट काव्यभावलाई समावेश गरेर जुन गीत गाउनुभएको छ, यो गीतलाई सम्पूर्ण नेपालीहरुले मनैदेखि सुन्नपर्छ, हेर्नुपर्छ, र रेग्मीजीलाई प्रोत्साहन दिनुपर्छ।’

पत्रकार धमलाले पछिल्लो समयमा राष्ट्रिय भावका गीतले एकताको भाव प्रकट गरिरहेका छन्, एकताको आह्वान गरिरहेका छन्, हामी मिल्नुको विकल्प छैन्, हामी एक हुनुको विकल्प छैन, यो गीतले हामीलाई एकतावद्ध बनाउन प्रेरित गरेको छ, म यो गीतको सफलताको लागि भित्रैबाट हार्दिक शुभकामना दिन चाहन्छु।’

गायक रेग्मी २०५५ सालदेखि गीत संगीतमा संलग्न रहेको बताउँदै भने,‘म लामो सयमदेखि यस क्षेत्रमा क्रियाशिल छु, सुरुमा डेउडा गीत गाउँने गरेको थिए, आज आएर नेपाल र नेपाली बीचको दुरी कतै लम्बीन थालेको हो कि भन्ने लागेर गीतकै भाव मार्फत एकता र भातृत्वको सन्देश प्रवाह गर्ने उद्देश्यले यो गीत बजारमा ल्याएको छु।’

‘म हुँ नेपाली’ बोलको गीतमा रेग्मीको शब्द, संगीत र स्वरमा रहेको छ । उक्त गीतको निर्देशन भिम थापाले गरेका छन् भने, छायाङ्कन मुकेश हुमागाईको रहेको छ । सम्पादनको पाटोमा प्रविण रेग्मी उत्रेका छन् ।

पश्चिम सेती प्रकाशनले बजारमा ल्याएको गीतको निमार्ता देवकी रेग्मी हुन्। रविन थापा, मधुकर थापा, रविन जोशी, बाल कलाकारमा बन्दिका रेग्मी र बाबुकिसन रेग्मीको अभिनय रहेको छ ।
गायक रेग्मीको लय, शब्द तथा स्वरमा यसअघि पनि ‘मेरो प्यारो सुदुर पश्चिम’ बोलको नयाँ डेउडा गीत बजारमा आएको छ ।



प्रतिक्रिया दिनुहोस्