Logo

राजपासँग चुनाव भाँड्ने हुति छैन : उपेन्द्र यादव, अध्यक्ष–संघीय समाजवादी फोरम नेपाल



संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालले चुनाव भाँड्ने हुति आफूले नदेखेको दाबी गरेका छन् । यादवले आफूले मधेको समग्र हितको लागि काम गरेको बताएका छन् । उनले चुनावलाई आफूहरुले उपयोगको रुपमा लिएको र चुनावलगत्तै शक्ति सञ्चय गरेर संविधान संशोधनको लागि लड्ने बताएका छन् । अध्यक्ष यादवसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंशः

आज मनोनयनको दिन, तपाईको पार्टीले कति ठाउँमा उम्मेद्ववारी दिदैछ ?

सबै जिल्लामा दिँदैछौं ।

अनि तालमेल कुन–कुन पार्टीसँग हुँदैछ ?

नयाँ शक्ति, माओवादी केन्द्रसँग भएको छ । पहाडमा काँग्रेससँग कहीँ कहीँ तालमेल भएको छ ।

उसो भए निर्वाचनको माहोल बनेको छ भन्दा हुन्छ नि ?

एकदमै छ । २० बर्षपछि जनताले स्थानीय सरकार पाउँदैछ । एकदमै राम्रो छ ।

राजपा निर्वाचनमा नआउँदा केही फरक नपर्ने भयो होईन त ?

अब हेर्नुस्, राजपाका साथीहरूले आफ्ना मागहरूको नाममा राज्यसँग भन्दा पनि फोरमसँग गरिरहनुभएको छ । सबैभन्दा ठुलो भूल यही हो । उहाँहरूले यो कुरा जानेर नै गरिरहनुभएको छ । फोरमको बद्नाम गर्ने, कार्यालय घेर्र्ने, यस्ता आन्दोलनले परिणाम पाउँछन् त ?

तपाई र मोर्चाबीचको द्वन्द्वको कारण के हो ?

खोई ? मलाई थाहा छैन् । कुनै कुण्ठा, कुनै रिसको कारण हो कि ? प्रतिषोेधको कारणबाहेक राजनीतिक कारण म देख्दिन् ।

तपाईको पार्टीमाथिको आक्रमण तपाईले निर्वाचनमा भाग लिनु मुख्य कारण हो भन्छन् नि ?

निर्वाचनमा भाग लिनु राम्रो हो नि । निर्वाचन नै अन्तिम विकल्प हो । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुको विकल्प के छ त ?

तर तपाईले त संविधान संशोधन नभईकन निर्वाचनमा भाग नलिने भन्नु भएको थियो नि ?

प्रयास गरेकै हो नि । सकिएन । दर्ता छ । फेरी त्यसलाई पास गर्ने काममा हामी लाग्नुपर्छ । जुनदिन बहुमत पुग्छ त्यो दिन पास हुन्छ ।

मोर्चाको आरोप छ, तपाई त पुर्नःलेखनको माग गर्ने नेता हो , किन निर्वाचनमा भाग लिनु भयो रे ?

अहिले पनि भनि रहेकोछु । यो संविधानले मुलुक अघि बढ्दैन । संविधान संशोधन प्रस्ताव संसदमा विचाराधिन छ । नेताहरू प्रधानमन्त्री चुनावमा भाग लिने तर जनताले आफ्ना जनप्रतिनिधि छान्ने मौका अवसरबाट बञ्चित गराउने ? यो कहाँको लोकतन्त्र हो ? जनतालाई लात हान्न पाईन्छ ? म प्रश्न गर्न चाहन्छु ।

मधेशका अधिकार प्राप्त नभएको अवस्थामा किन निवार्चनमा भाग लिनु भएको हो भन्ने तपाईमाथि गम्भिर आरोप छ नि ?

हाम्रा माग हिजो पनि पुरा भएका थिएनन्, आज पनि भएका छैनन् । हामीले जति प्राप्त गरेका छौँ । त्यति नै लिएर जनताकोबीचमा जाने हो । बाँकी अधिकारको लागि लड्दै जाने हो । अधिकारको नाममा घटिया राजनीति गर्ने, फोहोरी खेल खेल्ने, फोरमको कार्यालय जलाउने यस्तो पनि हुन्छ ?

मोर्चाले त तपाईकै कारण सबै खत्तम भयो भनिरहेको छ नि ?

मेरो कारण होईन । उहाँहरुकै कारण हो । आज दुई नम्बर प्रदेश र जनतालाई पछि पार्ने काम उहाँहरूबाटै भएको छ । जन प्रतिनिधिविहीन गराईएको छ । दुई तीन महिनापछि निर्वाचन गर्नु भनेको दुई नम्बर प्रदेशलाई पछि पार्नु हो । यही हो उहाँहरुको उपलब्धि ?

दुई नम्बर प्रदेशको निर्वाचन सार्नु हुँदैन थियो भन्ने हो तपाईको मान्यता ?

हो, एकदमै गलत भयो । निर्वाचन सार्न नहुने, गर्न नहुने काम गरेको छ सरकारले । मधेशी जनताको गलामा फन्दा हाल्ने काम भएको छ । यसले देशको पनि हित हुँदैन । दुई नम्बरको त झनै हुँदैन । असोजमा पुर्याईएको छ, यो कार्य देशको हितमा र मधेशको हितमा पनि छैन् ।

संविधान संशोधन गर्ने भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ ?

संविधान संशोधनको लागि सबैभन्दा बढि लड्ने मान्छे हुँ । स्पष्ट पारौँ । संविधान संशोधन र पुर्नलेखनको माग गर्ने मान्छे मै हँ । अहिलेपनि म त्यसैको पक्षमा छु । तर मोर्चाका साथीहरूले मलाई तथानाम बद्नाम गाली गर्ने, फोहोरी शब्द प्रयोग गर्ने गरेको छन् । यस्तैमा रमाएका छन् । यही हो मधेशका जनताको माग ? यही हो तरिका ?

महन्थ ठाकुरले पनि तपाईलाई आफुसँग सहकार्य नगरेको भनेर गुनासो गुर्नभएको छ नि ?

होईन । पहिले त उहाँले नै निर्वाचनमा भाग लिने भन्नु भएको हो । चुनाव चिन्ह नपाएपछि, पार्टी दर्ता नभएपछि उहाँहरूले यो नाटक गर्नुभएको हो । निर्वाचनको मिति सार्नुको कारण पनि उहाँहरु नै हो, यो उहाँहरुकै कारण हो नि । ६ वटा मध्ये कुनैपनि चुनाव चिन्ह नलिने ? यो उहाँहरुको हठ हो ।

तर तपाईमाथिपनि गम्भिर आरोपहरु लगाईएका छन्, अहिलेसम्म मधेशी नेता तथा कार्यकर्ताहरुमाथिको मुद्दा फिर्ता गर्न सक्नुभएन, सहिद घोषणा गर्न सक्नुभएन नि ?

मुद्दा फिर्ता मात्रै होईन, मधेशको स्वाभिमान, पहिचान, शान स्थापित गर्नको लागि हामीले नै हो लडेको हो । मुलुकले पछिल्लो समय प्राप्त गरेका महत्वपूर्ण उपलब्धिको लडाईको अग्रगामी मोर्चामा फोरम नेपालले नेतृत्व गरेको छ । उहाँहरु त कतिपय त प्रतिकार समितिमा हुनुहुन्थ्यो ।

उसो भए संघीयता लोकतन्त्र, गणतन्त्रको लागि राजपाको कुनै भूमिका छैन भन्न खोज्नुभएको हो ?

उहाँहरुको पार्टी जन्मिएकै थिएन् । उहाँहरु सरकारमा थिए । म अधिकारको लागि लड्दै गर्दा उहाँहरू सरकारमा हुनुहुन्थ्यो । उहाँहरू मध्येमा केही नेता वार्ताको लागि आउनुको भएको थियो । वार्ता गर्न नसकेर फर्केर भाग्नु भएको हो । अहिले फुर्ति देखाएर हुन्छ ? फोरम नेपाल क्रान्तिबाट जन्मिएको पार्टी हो । कसैले आएर बनाईदिएको होईन ।

समस्या त छ नि, तपाईले कुनै पहल गर्नुभएन नि ?

निर्वाचनले मधेशी जनताले शक्ति पाउँछन् । अधिकार पाउँछन् । अब यो चुनाव सकिएपछि फेरि लड्ने हो । सशक्तिकरण जनतामा गराएर अनि आफ्नो शक्ति आर्जन गरेर जनताका विकास निर्माणका कार्यहरु सँगै अघि बढाउँदै आफ्ना अधिकार प्राप्तिका लागि लड्ने हो ।

उसो भए निर्वाचन सम्पन्न भएपछिमात्रै तपाई संविधान संशोधनको एजेण्डामा अघि बढ्नुहुन्छ ?

होईन, संविधान संशोधन लगायतका थुप्रै एजेण्डाहरु छन् । जस्तो, भ्रष्टाचारका विषयहरु छन्। प्रदेशहरुलाई अधिकारसम्पन्न बनाउने एजेण्डा छ । जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने एजेण्डा छन् ।

चुनावको कुरा गरिरहँदाखेरि आजको दिनमा राजपाले अवरोध गर्न सक्छ कि सक्दैन् ?

खै ? मैले त उहाँहरुसँग त्यति हुति देखेको छैन । राजपा नेपालले गर्ने भनेको फोरम नेपालको बोर्ड हटाउने मात्रै हो । अनि हिलो छ्याप्ने मात्रै हो । उनीहरुले गर्न सक्ने भनेको त्यति मात्रै हो ।

उसो भए आजको उम्मेद्धवारी मनोनयनपनि राजपाले रोक्न सक्दैन ?

मनोनयन हुन्छ । चुनाव हुन्छ । जनताले चुनाव चाहेका छन् । राजपा नेपालका नेताहरुले प्रधानमन्त्री शेरबहादुरलाई एकाविहानै भेट्नभएको छ । उहाँहरुले देउवाजीसँग फेस सेभिङको लागि मात्रै आन्दोलन गरेको भनेर भनेछन् । चुनावमा सबै मिलेर जाऔं भनेर मैले भनेको थिएँ ।

तर तपाईको कुरा कसैले सुनेनन् ?

मैले त कोशिस गरेकै हो । उहाँहरुको लागि चुनाव चिन्ह दिलाउनको लागि पनि प्रयास गरेकै हो । चुनाव सार्नकोलागि पनि मैले पहल गरेकै हो ।

तर चुनावमा गएकोले प्रसंगलाई कोट्याएर राजपाका नेताहरुले तपाईलाई महान नेता भएको भन्दै व्यंग्य समेत गरेका छन् नि ?

उहाँहरुले गर्ने नै त्यही हो नि । हिजो सबैभन्दा लामो समयसम्म मन्त्री बनेको को हो ? प्रधानमन्त्रीको निर्वाचनमा भोट हाल्न हुने ? कोही कोही १८ पटक मन्त्री भएका मान्छे पनि राजपा नेपालमै छन् । अहिले फोरम नेपालमाथि हिलो छ्याप्ने ?

तर फोरम नेपालपनि सम्झौतापरस्त भयो भन्ने आरोप छ नि ?

सम्झौता र सहमति हुन्छ नि । सम्झौताविहीन हाम्रो राजनीति होईन । राजनीति भनेको नै आर्ट अफ कम्प्रोमाईज हो । के गर्नुपर्छ भन्ने कुरा हामीलाई राम्रो ज्ञान छ ।

बाबुराम भट्टराईसँग तपाईहरुको एकता हुँदैछ, अब कसरी एजेण्डा स्थापित हुन्छ र ?

होईन, एकता भयो भने त एजेण्डा स्थापित हुन्छ । हामी त अझैपनि उहाँहरुसँगपनि एकता गर्न चाहन्छौं । यत्रो फोहोरी खेल खेल्दापनि हामी त एकताकै पक्षमा छौं नि। मधेश र देशको कल्याणको लागि काम गरौं ।

उसो भए अहिले राजपाले कसको लागि काम गरिरहेका छ त ?

राजपाका कार्यकर्ताहरु असल छन् । तर राजपाका केही नेताहरुमा हठ छन् ।



प्रतिक्रिया दिनुहोस्