Logo

दोस्रो चरणको निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता हुन्छ : अयोधीप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्त



प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको लागि शान्तिपूर्ण तथा उत्साहपूर्वक उम्मेद्धवारी मनोनयन दर्ता भएको स्पष्ट पारेका छन् । यादवले केही स्थानमा छिटफुट घट्नाबाहेक सबै ठाउँमा शान्तिपूर्ण उम्मेद्धवारी दर्ता भएकोले निर्वाचनमा आम मतदाताहरुको उत्साहजनक सहभागी हुने ठोकुवा समेत गरे । त्यस्तै, यादवले २ नम्बर प्रदेशमा असोज २ को लागि तोकिएको मिति अब नसर्ने समेत जिकिर गरेका छन् । निर्वाचनको तयारी, संभावना र चुनौतिका विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले प्रमुख निर्वाचन आयुक्त यादवसँग गरेको कुराकानीको सम्पादित अंशः

दोस्रो चरणको निर्वाचनकोलागि उम्मेद्धवारी मनोनयनको काम सफल भयो होईन त ?

लोकतन्त्रको सुन्दर पक्षका हिसाबमा हेरिने निर्वाचनको लागि हिजो छुटफुट घट्नाबाहेक शान्तिपुर्ण र उत्साहपुर्वक तरिकाले उम्मेद्ववारी मनोनयन दर्ताको काम सकिएको छ।

सबै ठाउँमा भयो कि केही ठाउँमा अझै बाँकी छ ?

सबै ठाउँमा भएको छ । केही बाँकी ठाउँमा हुँदैछन । अहिलेसम्म रोकिएको जानकारी आएको छैन् ।

उसो भए उम्मेद्ववारी शान्तिपूर्ण तकिारले नै सम्पन्न भएको हो त ? कतै झडप त भएको छैन् ?

कुनै ठाउँमा भएका होलान्, तर ती घट्नाहरु मनोनयन दर्ताको क्रममा होईन । बाहिरतिर भएका छन्। बाजुरामा भएको घट्नालाई दुःखद रुपमा लिएका छौँ । निर्वाचन आयोग समवेदना प्रकट गर्छ । उचित छानविनको लागि सरकारलाई आग्रह गर्दछु ।

मनोनयन हुँदा दलबीच जुन झगडा भईरहेको छ, यो असार १४ गतेसम्म पुग्दा कुन रुप लिन्छ होला?

मनोनयन पनि एक महत्वपूर्ण कुरा हो । केही ठाउँमा त्यस्ता दुःखद् घट्ना भएपनि प्रायः सबै स्थानमा राम्रो भएको छ । झगडा के कारण भएको हो ? त्यो कारण पत्ता लगाउनुपर्छ ।

उसो भए पछिल्ला यस्ता घट्नाले असार १४ को निर्वाचनलाई असर पार्दैन ?

पार्दैन् । झनै राम्रो हुन्छ । हामीलाई सचेत बनाएको छ । सरकारले सुरक्षाको प्रबन्ध राम्रो गर्नको लागि मार्ग पाएको छ।

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण हुनेमा तपाई विश्वस्त हुनुहुन्छ ?

म एकदमै विश्वस्त छु । कसैले शंका गर्नुपर्दैन । शान्तिपूर्ण तरिकाले मनोनयन दर्ताभएको छ। निर्वाचन झनै शान्तिपूर्ण हुन्छ । आम नागरिकहरुको उत्साहपूर्ण सहभागी हुन्छ । निर्वाचनको बारेमा जानकारी दिने काम भएको छ। मतदान पनि त्यही आधारमा हुन्छ।

बर्षाको समय छ, सबै मतदाता निर्वाचनमा भाग लिनको लागि आउँछन् त ? उनीहरुको लागि के व्यबस्था गर्नुभएको छ ?

हामीले व्यबस्था गरेका छौँ ।

छाता कि रेनकोट ?

तपाई कस्तो कुरा गर्नुहुन्छ ? प्रत्येक मानिसलाई छाता बाँड्न सकिन्छ त ? निर्वाचन स्थल्मा ओत लाग्ने ठाउँ बनाएका छौँ। जनता आँफै छाता ओडेर निर्वाचन स्थलमा आउछन् । मतदान बढी भन्दा बढि जनता भाग लिन्छन् । हाम्रो कामना सबै जनताले आफ्नो अधिकारको उपयोग गरुन भन्ने हो । गएको निर्वाचनमा हामीले सोचेको भन्दा राम्रो प्रतिशत जनताले निर्वाचनमा भाग लिएका थिए ।

निर्वाचन सम्बन्धि जानकारी कम भयो भन्ने आम गुनासो छ नि ?

त्यो त मनोनयन दर्ताले देखाईसक्यो नि । तपाईले भनेर हुन्छ ? उम्मेदवारले पनि सिकाउँनु हुन्छ ।

निर्वाचन आयोगले के गरेर बसेको छ नि?

तपाई पत्रकार भएर पनि निर्वाचनको काम थाहा छैन् । निर्वाचन आयोगले नगरेको छ र ? मतदाता शिक्षा निक्कै राम्रो छ । अब राजनीतिक दलका कार्यकर्ता र उम्मेद्वारले पनि दिन्छन् । मतदाताले ख्याल गर्छन् ।

पहिलो चरणको निर्वाचनमा कति प्रतिशत मतपत्र बदर भयो त ?

जम्मा ३ प्रतिशत मात्रै भएको छ ।

उसो भए अब दोस्रो चरणमा अझै कम हुन्छ त ?

एकदम कम हुन्छ ।

निर्वाचन आयोगले २ नम्बर प्रदेशमा निर्वाचन गर्न नसक्नुमा तपाईले अडान छोड्नु भयो भन्ने पनि गुनासो छ नि ?

यो कुरा त सबैले थाहा पाएका छन् । हामीले त कानुनले भनेकोजस्तो काम गर्ने हो । त्यही बमोजिम काम गरेका छौं।

तपाईले सकारको भने बमोजिम काम गर्नुभयो नि ?

होईन । मन्त्रीपरिषद वैठकले संविधानलाई मान्दैन र ? कानुनले भनेको अनुसार हामीले काम गर्ने हो ।

उसो भए अब प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते हुन्छ ? निर्वाचन अब सर्दैन नि ?

हुन्छ । हाम्रो अभ्यासले नै हुन्छ भन्ने गरेको छ नि ।

प्रस्तुति : ऋषि धमला 



प्रतिक्रिया दिनुहोस्