Logo

तीनसाले खोरीयामै आम्दानीको स्रोत खोज्दै चेपाङ



नारायण ढुंगाना : रत्ननगर (चितवन), ६ असार । चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने अति सिमान्तकृत चेपाङहरु तीनसाले खोरीयामा मकै र कोदो उत्पादन गर्छन् ।

तीनसाल एउटा खोरीयामा खेती गर्छन्, अनि छाडेर फेरि अर्काे ठाउँमा तीनसाल काम गर्छन् । त्यसैले तीनसाले खोरीया भनिएको हो । खोरीयाबाट आएको अन्न जेनतेन ६ महिनालाई पुग्छ । त्यसपछि उनीहरुलाई अनिकाल लाग्छ ।

यहाँका अधिकाँश चेपाङको अवस्था त्यही हो । परम्परागत खेती प्रणालीमा उनीहरु छन् । अनिकाल सुरु भएपछि जङ्गली गिठा–भ्याकुर खोज्ने, ज्याला मजदुरी गर्ने, ऋणमा बेसाएर खाने, अनि पछि काम गरेर तिर्ने । यो उनीहरुको हरेक वर्षको दैनिकी हो ।

चितवनको विकट क्षेत्रमा बस्ने चेपाङहरु खोरीयातिर खनिखोस्री जेनतेन परिवार पाल्छन् । अन्न नभएकाहरु ज्याला मजदुरी गर्न जान्छन् । कतिपय भने कन्दमूल खोज्न जङ्गल पस्छन् । पढाइ छाडेका बालबालिकाको बढी प्रयोग कन्दमूल खोज्नमा हुन्छ ।

“हरेक बर्ष साहुकामा बेसाएर खानुपर्छ,” इच्छाकामना गाउँपालिकाको वडा नं २ का निर्वाचित वडाध्यक्ष पञ्चबहादुर चेपाङले भन्नुभयो – “अब खोरीयामा आम्दानीको स्रोत खोजेर अघि बढ्ने हो ।”

अब भने खोरीयामा मकै र कोदो मात्रै लगाएर नहुने उहाँ बताउनुहुन्छ । त्यहाँ फलफूल खेती गर्न सकिन्छ । डालेघाँस रोपेर बाख्रापालन गर्न सकिन्छ ।

“केही भएन भने पुरानो पेसा अम्रिसो त रोप्न सकिन्छ, अनि कुचो बेच्न पाइन्छ,” पञ्चबहादुरले भन्नुभयो – “एजेन्डा के छ था‘छैन । आज गाउँपालिका मिटिङ बोलाइएको छ । कुरो उठाउँछु ।”

बाँझो बसेको पाखो बारीलाई प्रयोगमा ल्याउने योजना उहाँको छ । जग्गा नभएकाहरुलाई खोरीया दर्ताका लागि पनि पहल गर्ने उहाँले बताउनुभयो ।

चेपाङहरुको तीनसाले खोरीया दर्ताको माग पुरानै हो । उनीहरु शिक्षा, स्वास्थ्य र सरसफाइमा पछाडि छन् । मौसम अनुसार जुन ठाउँमा जे उपयुक्त हुन्छ त्यही खेतीमा चेपाङलाई प्रेरित गर्ने निर्वाचित चेपाङहरुको योजना छ ।

चेतनाको अभावले गर्दा पढ्नु पर्छ भन्ने उनीहरुलाई लाग्दैन । कतिपय गाउँमा सुत्केरी हुनु पर्दा अद्यापि वन जाने चलन छ ।

सचेतनासँगै एकीकृत बस्ती व्यवस्थापन, छात्रावास निर्माण, सिपमूलक तालिम र रोजगार आफूहरुको पहिलेदेखि कै माग भएको नेपाल चेपाङ सङ्घ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ बताउनुहुन्छ । बर्सेनि विभिन्न सङ्घसंस्थामार्फत करोडौं बजेट चेपाङको नाममा आइरहे पनि त्यो बालुवामा पानी हाले सरह भैरहेको शक्तिखोरका दलबहादुर चेपाङको गुनासो छ ।

चितवनको राप्ती नगरपालिका वडा नं १२ का नवनिर्वाचित अध्यक्ष अर्जुन चेपाङ अहिले आफ्नो ध्यान गिठा र भ्याकुर खाने बाध्यतालाई कसरी अन्त्य गर्ने भन्नेमा रहेको बताउनुहुन्छ । उहाँको तीनसाले खोरीयालाई प्रयोग गरेर कसरी उत्पादन बढाउने भन्ने मै ध्यान गएको छ । “खोरीया दर्ताका लागि आफूहरुसँग अधिकार छैन,” अर्जुनले भन्नुभयो – “पहल मात्रै गर्ने हो । नभएसम्म त त्यही खोरीयालाई उत्पादनमूलक काममा लगाउनुप¥यो नि ।”

अहिलेसम्म मकै र कोदो लगाएरै चेपाङ बसेकाले बर्सेनि भोकमरी लागेको हो । भात खान दशैं कुर्नुपर्छ । त्यही पनि चामल बेसाएर ल्याएका हुन्छन् । “पाखोमा अन्न उब्जाएर धेरै आम्दानी हुन्न, बरु त्यो ठाउँमा त घाँस रोपेर बाख्रापालन, अम्रिसो खेती वा फलफूल लगाउन सकियो वा कागती रोपियो भने त हुन्छ नि,” आयआर्जनको संभावनालाई आँैल्याउँदै अर्जुन चेपाङले भन्नुभयो ।

चितवन जिल्लामा यसपालि वडाध्यक्षमा पाँच जना चेपाङ विजयी भएका छन् । वडा सदस्यसहित गरेर कुल २४ जना चेपाङ विजयी भएका छन् । नेपालभर अहिलेसम्म कुल ११ जना वडाध्यक्ष सहित ६४ जना चेपाङ निर्वाचित भएको संविधानसभाका पूर्व सदस्य गोविन्द चेपाङ बताउनुहुन्छ ।

उनीहरुमार्फत अब चेपाङ गाउँको विकास, आयआर्जन, शिक्षा र स्वास्थ्यमा परिवर्तन ल्याउने योजनामा सङ्घ लागेको उहाँले जानकारी दिनुभयो । उहाँले खोरीया, नागरिकता, जमिन, सिप विकास, स्वास्थ्य र शिक्षालाई मूल मुद्दा बनाएर अघि बढ्ने बताउनुहुन्छ ।

“हामीले केही दिन अघि उहाँहरुलाई सम्मान पनि ग¥यौं,” चेपाङ सङ्घका चितवन अध्यक्ष लक्ष्मणले भन्नुभयो – “सङ्घले निर्देशनात्मक सुझाव दिएको छ, त्यही अनुसार उहाँहरु अघि बढ्नुहुन्छ ।”

उहाँले बस्ती व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगार, सिप र खोरिया व्यवस्थापनको विषयमा गम्भीर ध्यानाकर्षण गराएको बताउनुभयो । वन कार्यालयले अतिक्रमित क्षेत्र रोक्न खोज्दै गरेकाले विकल्प के हुनसक्छ भन्ने विषयमा पनि छलफल चलिरहेको सङ्घको भनाइ छ ।

इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङ खोरीया दर्तामा पहल गर्ने र आयआर्जनमा लगाउने काममा आफू लाग्ने बताउनुहुन्छ । उहाँले विपन्नताका साथै चेपाङहरुको पहुँच स्वास्थ्य र शिक्षामा नरहेको बताउनुभयो ।

नेपालमा २०६८ सालको जनगणना अनुसार चितवनमा २८ हजार ९८९ चेपाङ छन् । नेपालभर उनीहरुको सङ्ख्या ६८ हजार ३९९ छन् । तर प्रजा थर भएकाहरु कतिपय ठाउँमा नसमेटिएकाले करिव १ लाख जनसङ्ख्या चेपाङको रहेको सङ्घको दावी छ । नेपालको गोरखा, चितवन, मकवानपुर, धादिङ, लमजुङ र तनहुँमा चेपाङको बसोबास छ ।

चितवनमा को को छन् चेपाङ वडाध्यक्ष

चितवनमा पाँचजना चेपाङले वडाध्यक्ष जितेका छन् । निर्वाचन आयोगका अनुसार चितवनको इच्छाकामना गाउँपालिकामा २, कालिका नगरपालिकामा १ र राप्ती नगरपालिकामा २ गरी पाँच जना चेपाङले वडाध्यक्षमा जितेका हुन् ।

इच्छाकामना गाउँपालिकाको वडा नं २ मा नेकपा एमालेका पञ्चबहादुर प्रजा (चेपाङ) ४५९ मतका साथमा विजयी हुनुभएको हो । उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका एकबहादुर अधिकारी र नेकपा (माओवादी केन्द्र)का प्रकाश बुढाथोकीलाई हराउनुभयो ।

इच्छाकामना कै वडा नं ६ मा ५६३ मतका एमालेका भूपेन्द्र प्रजा (चेपाङ) विजयी हुनुभएको छ । काँग्रेसका विराज गुरुङ र माओवादी केन्द्रका ठूलोकान्छा थापामगर उहाँका प्रतिस्पर्धी थिए ।

यता, कालिका नगरपालिका वडा नं ११ मा ३१६ मतका साथमा एमालेका उम्मेदवार कृष्णबहादुर प्रजा (चेपाङ) विजयी हुनुभयो ।

चितवनको राप्ती नगरपालिका वडा नं १२ मा काँग्रेसका अर्जुन प्रजा (चेपाङ) ३२० मत तथा वडा नं १३ मा सूर्य प्रजा (चेपाङ) ४४१ मतसहित विजयी हुनुभयो । अर्जुन एमालेका गोविन्दराम मोक्तानलाई पछि पार्दै विजयी हुनुभएको हो । रासस



प्रतिक्रिया दिनुहोस्