Logo

जीवनमा कहिल्यैपनि श्रीमती, मोवाइल नम्बर र ईमेल आईडी नफेरेको र नफेर्ने सुनिल थापाको उद्वघोष (भिडियोसहित)



काठमाडौं, ६ असार । बरिष्ठ कलाकार सुनिल थापाले आफूले जीवनमा कहिल्यैपनि श्रीमती, मोवाईल नम्बर र ईमेल आईडी नफेर्ने बताएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कलाकार थापाले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘मैले जीवनमा कहिल्यैपनि यी तीन चीज फेरेको छैन, र फेर्दिन पनि।’ उनले आफू जीवनमा कसैको पनि प्रेममा नपरेको र बाँकी जीवनमा झनै त्यस्तो नगर्ने वचनवद्वता व्यक्त गरेका छन् ।

धमलासँगको रोचक कुराकानीमा निकै खुलेर प्रस्तुत भएका थापाले आफूलाई मन पराउने युवायुवतीहरुको ठूलो भीड नै रहेको भएपनि आफूले अहिलेसम्म कुनै गलत सम्बन्ध नराखेको दाबी प्रस्तुत गरेका छन् । उनले भने,‘कसैसँग प्रेम नगरेकै राम्रो नि, यत्रो पोजिशनमा पुगेको मान्छेले यस्तो गलत काम गर्यो भने त बर्वाद नै हुन्छ नि।’

उनले कुराकानीको क्रममा अर्को रमाईलो खुलासा के गरे भने उनले अहिलेसम्म पैसा भने कमाएका छैनन अरे । हुन त उनले ५ वटा हिन्दी चलचित्रमा काम गरिसकेका छन् । थापाले थपे,‘मैले बलिउडमा पनि काम गरेको छु, तर पैसा मसँग छैन।’ उनले फिल्मी करियरको यतिको लामो समयमा आफूले पैसा कमाउन नसकेपनि मलामी भने प्रशस्तै कमाएको दाबी गरे ।

बलिउडमा उनलाई सबैभन्दा राम्री लाग्ने कलाकार प्रिती जिन्टा हुन । त्यस्तै राम्रो कलाकारमा सुनिता पटेल हुन भने आफूले सँगै काम गरेकी अर्की नायिका प्रियंका चोपडापनि उनको फेभरेट नायिका हुन् ।

थापाको सोख भनेको नै बोयल्ड वाटर पिउने यदि त्यो संभव नभए मिनरल वाटर पिउने रहेको छ । त्यस्तै उनले आफूहरु ब्ल्याक कफीको सौखिन नै रहेको समेत खुलासा गरे । आफ्नो श्वाँस रहञ्जेलसम्म नै ह्याप्पी रहने उनको अन्तिम चाहना रहेको छ ।

थापाको खासमा सबैभन्दा ठूलो सपना भनेको त अबको पाँच वर्षभित्र ओस्कारको स्टेजमा पुग्ने नै रहेको छ । उनलाई डान्स गर्न धैरै मन पर्छ भने फुटबल उनको सोख हो । धमलासँग उनले भने,‘म खेलाडी नै हुँ नि, पहिला मा फरवार्ड खेल्थें, अहिलेपनि मलाई त के बन्न चाहन्छस् भनेर सोधियो भने मेरो उत्तर हुन्छ–फुटबल खेलाडी।’

उनले अहिले आफू ६० वर्षको भएपनि अबको २० वर्षपछि पनि यस्तै ‘फिट एण्ड फाईन’ अवस्थामा आम दर्शकहरुले पाउने विश्वास धमलासामू दिलाए । उनले भने,‘यो उमेर भनेको त अंकमात्रै हो नि।’ आफूलाई तन्दुरुस्त राख्नको लागि उनी ध्यान र योगा गर्छन् । थापाले भने,‘मैलेपनि योगा गरेको छु, रामदेवबाबाजस्तै म पनि स्लिम बन्छु।’

पछिल्लो समय नेपाली युवा कलाकारहरुमा उनलाई गौरव पहाडी, संयम पुरी र विल्सन विक्रम राई पनि उतिकै मनपर्छ । उनको नयाँ प्रोजेक्ट भनेको शेरबहादुर हो । शेरबहादुर नामक उक्त चलचित्रमा उनले रिटायर्ड आर्मीको भूमिका निर्वाह गर्दैछन् । उनले भने,‘मैले रिटार्यड आर्मीको भूमिका निर्वाह गर्दैछु तर अहिले संयोग नै कस्तो पर्यो भने हाम्रो देशको प्रधानमन्त्री शेरबहादुर बन्नुभएको छ, सबैले मलाई उहाँको बायोपिक बन्न लागेको हो भनेर सोध्नुहुन्छ, तर होईन।’

उनले राजनीतिमा कलाकार लाग्नुलाई नराम्रो रुपमा लिन नहुने बताएपनि आफू चाहीँ जीवनमा कहिल्यैपनि राजनीतिमा नलाग्ने उद्धघोष नै गरे । उनले भने,‘म राजनीतिमा लाग्दिन्, किनकी मलाई अभिनेतामै काम गर्न मजा आउँछ, नेताको मेसेजभन्दा म अभिनेताबाट मेसेज राम्रो दिईरहेको हुन्छु।’ उनले राजनीतिमा नलागीकनै धेरै कलाकारहरुले नेपालको विकासको लागि प्रशंसनीय काम गरेको उदाहरण प्रस्तुत गरे । उनका अनुसार धुर्मुस–सुन्तली, दिपकराज र दिपाश्रीहरुले गरेको कार्य नेपाल र नेपालीहरुको लागि सँधैं उदाहरणनीय रहनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको निकास निकाल्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । थापाले भने,‘मैले धेरै नेताहरुलाई भेटेको छु, देउवाजीले मुलुकको निकास दिन सक्नुहुन्छ।’ उनले नेपालका प्रायः सबै शीर्ष नेताहरुसँग आफ्नो भेट भएको स्मरण गराए । उनका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त उनले प्रधानमन्त्री भएको समयमा भारतमा भेटेका थिए अरे, त्यो पनि मनिषा कोइरालाले आयोजना गरेको कार्यक्रममा । रमाईलो त के भने उनले फिल्ममा गृहमन्त्रीको भूमिका समेत निर्वाह गरिसकेका छन् । ‘परिभाषा’ नामक नेपाली चलचित्रमा उनले भ्रष्टाचारी नेताको रोल गरेका छन् ।

बाँकी भिडियोबाट :



प्रतिक्रिया दिनुहोस्