Logo

तराईमा राजपाको जनमत छैन् : चन्द्र भण्डारी, नेता–नेपाली कांग्रेस



सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले तराई÷मधेशमा राजपा नेपालको जनमत अत्यन्तै कमजोर रहेको दाबी गरेका छन् । उनले ५ नम्बर प्रदेशका जनताले कहिल्यैपनि छुट्टिने भनेर नभनेको समेत स्पष्ट पारे । अबको चुनावको तयारी, संविधान संशोधन र कांग्रेको भावी योजनाबारे केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेता भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईको पार्टीको नेतृत्वमा सरकार छ, तर विकास र समृद्धिको एजेण्डा खोई ?

आज नेपाल जहाँ पुगिरहेको छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले र आज तपाईले जे बोलिरहनुभएको छ, त्यो कांग्रेसले दिएको हो । सञ्चारमाध्यामको विकास कांग्रेसले गरेको हो । आज हरेक गाउँमा खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, विद्युत, लोडसेडिङ अन्त्य र ००७ सालदेखि अहिलेसम्म कांग्रेसकै नेतृत्वमा आन्दोलन भएको हो । त्यसकारणले एउटा सानो ईभेन्टलाई लिएर हिँड्नुहुँदैन् ।

तर कांग्रेसले राजनीतिक क्रान्ति गर्यो, आर्थिक क्रान्ति गर्न सकेन भन्ने आरोप छ नि ?

कांग्रेसले राजनीतिक क्रान्ति गर्यो । अरुण तेस्रोलाई बन्द गर्न एमालेले चिट्टी लेखिदियो । एमालेले देश अन्धकार बनाउने गम्भिर गल्ती गर्यो । एमालेकोजस्तो गल्ती कांग्रेसले गरेको छैन् ।

कांग्रेसले यो देशको धेरै चोटी नेतृत्व गरेको छ, तर अहिलेसम्म जनताको मन जित्ने कामहरु केही पनि गर्न सकेन नि ?

योजनाविदहरुले नै नेपालका योजनाहरु बनाएका हुन् । त्यो योजनाले उनीहरुको घरमा परिवर्तन आयो, उनको परिवारमा परिवर्तन आयो । सिमान्तकृत जनताको जीवनमा परिवर्तन आउन सकेन । तसर्थ, हामीले यो संविधान बनाएर स्थानीय तहमा सम्पूर्ण अधिकार दिनेदेखि विजुली निकाल्नेसम्म। चाहे पाठ्यक्रमको कुरा होस, चाहे न्याय क्षेत्रका कुरा हुन, चाहे राष्ट्रियताका कुरा हुन् । यी कुराहरु जनतालाई दिने भनेर नै संविधान जारी गरेका छौं । विगत हाम्रो अध्याँरो छ । वर्तमान हामीले सच्याउँदैछौं । भविष्यलाई हामीले उज्यालो बनाउनको निम्ति यो संविधान ल्याएका हौं । हामी सबैले बुझ्नुपर्छ ।

संविधान त आयो, तर अझैपनि जनताले यो संविधानलाई आफ्नो भनेर स्विकार गरेका छैनन नि ?

काठमाडौंका कुर्सीमा बसेर यस्तो कुरा गर्नुभन्दापनि स्थानीय तहको निर्वाचनमा सहभागी भएर जनताले खासगरी महिला, युवा साथीहरु जुट्नुभएको छ ।

तर तपाईहरुले संविधान संशोधन गर्न सक्नुभएन नि ?

उपेन्द्र यादवले आफ्नो राजनीतिक दृष्टिकोण राख्नुभएको छ। तराई मधेशमा सरकारले बुलेट प्रयोग गरेकोले बुलेटको जवाफ चुनावमा भाग लिएर अर्थात ब्यालेटमार्फत दिने भनेर उपेन्द्रजीले भन्नुभएको छ । विजय गच्छदारले पनि राख्नुभयो । चुनावमा भाग लिएर अर्थात ब्यालेटको प्रयोग गरेर संविधान संशोधन गर्नुपर्छ भन्नुभयो । हामी राजपासँग डराएका छैनौं । उहाँहरुको जनमत नै छैन् । तराईमा उहाँहरुको जनमत छैन् ।

तराईको कुरा गर्दा, ५ नम्बर प्रदेशलाई फेरी पनि टुक्र्याउनुपर्छ भन्ने जनमत छ अरे नि ?

कपिलवस्तुमा हामीले आमसभा गर्दा १३ हजार जनता उत्रिएका थिए । धेरैजसो तराईका जनताहरु हुनुहुन्थ्यो । जनता यतिवेला हिमाल, तराई र पहडा छुट्याउन चाहाँदैनन् । नेपाली जनता कसैलेपनि छुट्टिने कुरा गरेका छैनन् ।

उसो भए अब प्रदेश नम्बर ५ को राजधानी बुटवल हो त ?

प्रदेश नम्बरको राजधानी जनतालाई जहाँ अनुकुल पर्छ त्यहीँ राजधानी हुन्छ । जनतालाई पहूँच हुने ठाउँलाई प्राथमिकता दिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्