Logo

निर्वाचनलाई लिएर नेपाली सेना अलर्ट छ, ४५ हजार सैनिक खटिएका छन् : झंकर बहादुर कडायत, प्रवक्ता–नेपाली सेना



नेपाली सेनाका प्रवक्ता झंकर बहादुर कडायतले भोलि बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि नेपाली सेना पूर्ण अलर्ट भएर बसेको बताएका छन् । उनले यो निर्वाचनमा ४५ हजार सैनिक खटाईएकोपनि जानकारी दिए । पत्रकार ऋषि धमलाले प्रवक्ता कडायतसँग चुनावमा सेनाको भूमिकाबारे गरेको कुराकानीको सम्पादित अंश :

दोस्रो चरणको निर्वाचनमा नेपाली सेनाको भुमिका के छ भन्नुहोस् त ?

पहिलो चरणको निर्वाचनमा नेपाली सेनाको जुन भूमिका थियो, यो कुरा सबैलाई थाहा छ । नेपाल सरकारको खासगरी गृह मन्त्रालयको सुरक्षा योजना अनुसार निर्वाचनमा नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा गर्नेछ । यो दोस्रो चरणको निर्वाचनमा पनि हामीले त्यही अनुसारको भूमिका अर्थात सुरक्षाको प्रत्याुभित गर्छौं ।

जनताले निर्भिक भएर मतदान गर्न सक्ने अवस्था छ ? वा के छ अवस्था ?

म एकदमै विश्वस्त गर्न चाहन्छु । पहिलो चरणमा जसरी सुरक्षित वातावरणमा (साना तिना घट्नाबाहेक) राम्रो परिस्थितिमा सम्पन्न भयो । यो दोस्रो चरणमा पहिलो चरणमाभन्दापनि राम्रो सुरक्षित वातावरणमा निर्वाचन हुन्छ भन्ने हामीले अपेक्षा लिएका छौं ।

तर अहिले त भयरहित वातावरणमा मत हाल्ने वातावरण छैन भनेर भन्न थालिएको छ, यसमा कत्तिको सत्यता छ ?

अहिले त मलाई त्यस्तो लाग्दैन् । हामीले पाएको सुचना अनुसार मतदानमा त्यस्तो ठूलो समस्या पर्ने अवस्था देखिएको छैन । भोलि हुन गैरहेको निर्वाचनको अत्यन्तै राम्रो वातावरण हुनेछ । हामीले यही अपेक्षा गरेका छौं ।

तर यो पटकको निर्वाचनमा सेना परिचालनलाई लिएर राजपा नेपालले आपत्ति प्रकट गरेको छ नि ?

यो त हेर्नुहोस् नेपाल सरकारको आवश्यकत्ता अनुसार जे निर्णय हुन्छ, त्यो अनुसारको परिचालन गर्ने कुरा हो । सरकारले जुन निर्णय गरेको छ कि नेपाली सेना तेस्रो घेरामा रहेर जनतालाई सुरक्षाको प्रत्याभुति दिन सेनालाईपनि भुमिका दिनुपर्छ भनेर हामीलाई जिम्मेवारी दिईएको छ। त्यही अनुसार सेना परिचालन भएको हो । कुनै क्षेत्र वा कहीँबाट कुनै किसिमको प्रतिक्रिया आउला त्यो बेग्लै कुरा हो । तर हामी नेपाल सरकारको निर्णय अनुसार आफ्नो जिम्मेवारी पुरा गरिरहेका छौं ।

अहिले हुन गैरहेका निर्वाचन क्षेत्रहरुमध्ये केही अति संवेदनशील छन्, यस्तो ठाउँमा सेनाको भूमिका कस्तो हुन्छ ?

नेपाली सेनाले सुरक्षाको जिम्मा महत्वपूर्ण रुपमा गरिरहेको छ। पहिला नेपाल प्रहरीको भूमिका हुन्छ, त्यसपछि सशस्त्र प्रहरीको भूमिका हुन्छ । अन्य सुरक्षा निकायको ब्याक अप फोर्सको रुपमा रहन्छ । कुनै समस्या आए, हामी परिस्थिति हेरेर परिचालित हुन्छौं ।

दोस्रो चरणको निर्वाचनमा नेपाली सेना कतिको संख्यामा खटाईएको छ ?

सुरक्षा योजना अनुसार ४५ हजार सैनिकहरु विभिन्न स्थानमा परिचालन भएका छन् । त्यसको संगसँगै निर्वाचनको सुरक्षामा आवश्यक मद्दत गर्नको लागि काठमाडौं लगायत अन्य चार ठाउँमा सैनिक हेलिकप्टर पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ।

उसो भए नेपाली सेना अलर्ट भएर बसेको छ ?

हो, हामी पूर्ण रुपमा अलर्ट भएर बसेका छौं । हामीले सबै परिस्थितिलाई नजिकबाट हेरिरहेका छौं । परिस्थिति राम्रो होला ।



प्रतिक्रिया दिनुहोस्