राजपाका ५० प्रतिशत कार्यकर्ताले भोट हालेको सुरक्षा निकायको खुलासा


काठमाडौं, १४ असार । आज भैरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले भने निर्वाचनमा उत्साहजनक सहभागिता जनाएको खुलासा भएको छ ।

बुधबार तीन वटा प्रदेश अन्र्तगर्त ३३४ स्थानमा मतदान भैरहेको छ । सिंहदरबारस्थित् गृहमन्त्रालयमा आज अपरान्ह बसेको सुरक्षा निकायको उच्च तहको बैठकले राजपाका ५० प्रतिशतभन्दा बढि नेता तथा कार्यकर्ताहरुले चुनावमा भाग लिएको खुलासा गरेका छन् ।

प्रदेश नम्बर १ मा थोरै संख्यामा राजपाका कार्यकर्ताहरुले स्वतन्त्र उम्मेद्धवारको रुपमा भाग लिएका छन् भने सबैभन्दा बढि प्रदेश नम्बर ५ मा राजपाका नेता तथा कार्यकर्ताहरुले उम्मेद्धवारी दिएका हुन् । पार्टीको निर्णय जनता र कार्यकर्ताले खारेज गरेको सुरक्षा निकायले दाबी गरेको छ ।

यता राजपाकै केही प्रभावशाली नेताहरुले पनि पार्टी निर्णय अनुसार आफूहरुले मतदान नगरेपनि स्वतन्त्र उठेका आफ्ना कार्यकर्तालाई साथ सहयोग गरेको मिडियामा सार्वजनिक प्रतिक्रिया दिएका छन् ।