Logo

हङकङ्लाई निरन्तर सहयोग रहन्छ : चिनियाँ राष्ट्रपति



हङकङ, १५ असार । चिनियाँ राष्ट्रपति सि जिनपिङले विशेष प्रशासित क्षेत्र हङकङ्लाई चीन सरकारले सधैँ सहयोग गर्ने बताउनुभएको छ ।

उयहाँले भन्नुभयो– केन्द्र सरकारका हैसियतबाट चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङ्को विकास र यहाँका नागरिकको उन्नतिका लागि चीनले सधँै सहयोग गर्नेछ ।

हङकङ् सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सव तथा यहाँको सरकारको पाँचौ बार्षिकोत्सवका अवसरमा हङकङ्मा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधनका लागि उहाँ बिहीबार हङकङ् पुग्नुभएको छ ।

चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले दिएको जानकारी अनुसार राष्ट्रपति सि बिहीबार बिहान हङकङ् पुग्नुभएको छ । बिहीबार बिहान हङकङ् अन्तर्राष्ट्रिय बिमानस्थलमा सम्वाददाताहरुसँग प्रतिक्रिया दिँदै उहाँले हङकङ्को बिकासका लागि चीन प्रतिबद्ध रहेको बताउनुभएको हो ।

उहाँ तीन दिनसम्म हङकङ्मा रहनुहुने कार्यक्रम रहेको छ । उहाँले हङकङ् हस्तान्तरणको २० वर्षको अवसरमा आयोजित बिशेष समारोहलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

उहाँ हङकङ् ओर्लिएपछि विमानस्थलमा रहेका एकजना हङकङ्का पत्रकारले सोधेको प्रश्नको छोटो जवाफमा उहाँले हङकङ् सम्पन्न र समृद्ध हुने बताउनुभएको थियो । हङकङ्लाई सन् १९९७ देखि केन्द्रीय सरकारको रुपमा चीनले सबै सहयोग गर्दै आएको छ ।

उहाँ सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङकङ् भ्रमण हो । हङकङ्मा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको थियो ।
त्यसैले पनि यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङकङ् भ्रमण नगर्न पनि सक्नुहुने अनुमान सर्वत्र गरिएको थियो । तर आज उहाँ हङकङ् पुग्नुभएको समाचार सार्वजनिक भएको छ ।

हङकङ् हस्तान्तरण गरिएको समयको अवसर पारेर हङकङ्मा प्रदर्शनको तयारी पनि गरेको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको अर्काे एक समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा/एएफपी



प्रतिक्रिया दिनुहोस्