Logo

वार्तामै नबस्ने साउदी अरेबियाको भनाई अतिवादी : कतार



इस्तानबुल, १५ असार । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध र नाकाबन्दीको समाधानका विषयमा पछिल्लो समय केही प्रयास भइरहेका बेला साउदी अरेबियाले कतारसँग वार्ता पनि नगर्ने भनी दिएको प्रतिक्रियाको कतारले कडा बिरोध गरेको छ ।

कतारको समस्या समाधानको लागि पछिल्लो पहलस्वरुप केही गल्फका देशले शर्त राखेका थिए । उनीहरुले १३ बुँदे प्रस्ताव पनि सार्वजनिक गरेका छन् । कुवेतको मध्यस्थतामा उनीहरुले सो सार्वजनिक गरेका हुन् ।

यी शर्तमध्ये साउदी अरेबियाले कतारको अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने शर्त अघि सारेको छ । यसका साथै अरु मागप्रति आफू सहमत हुन नसकेको भनी कतारले आफ्नो देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको धारणा राखेको थियो ।

ती शर्तका बारेमा बसेर छलफल गर्ने तयारीका लागि कुवेत लगायतले साउदी अरेबियालाई आग्रह गरेका थिए । तर साउदी अरेबियाले भने आफूले ती शर्तलाई कतारले पनि स्वागत नगरेकोले वार्तामा नै नबस्ने बताएको हो ।
उता कतारले भने यसरी वार्तामै नबस्ने भनी साउदी अ‍ेरिबयाले राखेको धारणा अतिवादी सोचबाट आएको बताएको हो । यस बारेमा उक्त गठबन्धनका अरु देशहरुको धारणा भने आएको छैन ।

उता टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानले पनि कतारमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत रहेको र त्यसलाई खुकुलो बनाउने निहूँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु पनि अवैधानिक भएका टिप्पणी गर्नुभएको थियो ।

कतारकाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतार माथि विभिन्न शर्त राखेका छन् ।

टर्कीले कतारको समर्थन गर्दै आएको छ । टर्कीको सरकारी समाचार समिति अनादोलुले राष्ट्रपति एर्दाेगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ ।

कतारमाथि यस्तो प्रतिबन्ध लागेको महिना दिन भएको छ । गल्फ सहितका छ वटा देशले कतारमाथि शर्त राखेका छन् र कुवेतले समस्या समाधानका लागि मध्यस्थता गरेको छ ।

ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने पनि भनिएको छ । कतार त्यो शर्तमा पनि सहमत भएको छैन । कतारले आतङ्ककारीहरुलाई आश्रय र प्रश्रय दिएको आरोप मुस्लिम गल्फ देशहरुको रहेको छ । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्