Logo

कांग्रेसलाई देशको माया छैन, उसले सिके राउतसँग पनि साठगाँठ गर्दैछ : भीम रावल, उपाध्यक्ष–नेकपा एमाले



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले हिजो सम्पन्न भएको दोस्रो चरणको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रशासनको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले कांग्रेस र माओवादी केन्द्रले गलत र निकृष्ट काम गरेपनि दोस्रो चरणको निर्वाचनमा पनि एमालेले जित्ने दाबी गरेका छन् । त्यस्तै, उनले कांग्रेसले जित्नैको लागि झण्डा जलाउनेहरुसँगपनि चुनावी तालमेल गरेको र आगामी दिनमा सिके राउतसँग पनि साँठगाँठ गर्ने आरोप लगाएका छन् । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले उपाध्यक्ष रावलसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश नम्बर ७ मा कसले बाजि मार्ला ?

जनताको अत्याधिक सर्मथनको बीचमा हामीले निर्वाचन सम्पन्न गरेका छौँ । माओवादी र काँग्रेसको तालमेल र खासगरी उनीहरुले प्रशासनको दुरुपयोग, बुथ कब्जा गर्ने जस्ता निकृष्ट काम गरेका छन् तैपनि हामी जित्छौँ।

एमाले हार्ने भएपछि यस्तो आरोप लगाउन सुरु गर्नुभयो हैन त ?

सरकारले दिनु दुःख दिएकै हो । जनतालाई हार्दिक धन्यवाद छ । जनताहरु महान हुनुहुन्छ । उहाँहरुले कुनै दुःख नमानी मतदान गर्नुभएको छ। लोकतान्त्रिक अधिकार सदुपयोग गरेका छन् । मेहेललेख गाउँपालिकामा कर्मचारीलाई प्रयोग गरेका छन् । अर्को साफे नगरपालिका वडा नं. ७ रिडिकोट नेपाली काँग्रेसका सभापति तथा पूर्वसांसदले अभद्र व्यबहार गरेको सत्य हो। सोडासा गाउँपालिकामा माओवादीका कार्यकर्ताले मतपेटीका कब्जा गर्न खोजे आर्मीले बचाएको पनि सत्य हो नि ।

त्यसो भए तपाईको जिल्ला अछाममा एमाले पराजय हुने भयो ?

किन हार्ने ?

तपाईले विभिन्न उदाहरण दिईरहनुभएको छ नि ?

मैले त्यसो भनेको छैन् । काँग्रेस र माओवादीले जुन हर्कत देखाएका छन् यो मानिसले गर्ने व्यबहार होईन ।

तपाईले अछाममा गलत गर्नुभयो भनेर माओवादी नेता लेखराज भट्टले भन्नुभएको छ नि ? खास कुरा के हो ?

लेखराजले के भने ? त्यो म जाँन्दिन । भीम रावलले लोकतन्त्रको बिरुद्धमा कुन ठाउँ के गर्यो ? त्यो जनताले बुझेका छन नि । काँग्रेसले आफुलाई पराजित हुनबाट जोगिनको लागि अनेक थोक गरेको छ । पूर्वमा लिम्बुवान देखि लिएर झण्डा नमान्नेसम्म उसले तालमेल गरेको छ । काँग्रेस मुलुकको बाधक बन्दै छ । कांग्रेसलाई देशको माया छैन् । सिके राउतसँग पनि साँठगाँठ गर्दैछ काँग्रेसले ।

अरु कुनै पार्टी राष्ट्रवादी होईनन, एमाले मात्रै हो भन्न खोज्नुभएको हो ?

व्यबहारमा देखिनुपर्छ । अरु पार्टीको कुरा गरेको छैन् । २०४८ सालमा जुन काँग्रेसले वितण्डा मच्चायो, त्यसको परिणाममा माओवादी जन्मियो आजका दिनसम्म पनि काँग्रेसको चरित्र उस्तै छ । बदलिएको छैन् । कांग्रेसले त लोकतन्त्रको उपहाँस गरको छ।

काँग्रेसका नेता शेखर कोईला एमाले उख्खान टुक्काले चल्ने पार्टी हो, मुलुक यसरी चल्दैन भन्नुभएको छ नि ?

जसले देश र झण्डाका कुरा गर्छ त्यसको बिरोधमा विदेशी ईशारामा चल्नेले मात्रै यस्तो आरोप लगाउँछ । झण्डा जलाउँदा वाहवाह गर्नुहुन्छ। यो काँग्रेसको चरित्र हो ।

७ नम्बर प्रदेशमा एमाले पराजित हुने देखेर यस्तो भन्नु भएको त होईन नि ?

काँग्रेस राष्ट्रको बिरुद्धमा उभिएको थियो नि, अहिले त उ लोकतन्त्रका बिरुद्धमा पनि उभिएको छ । यसे स्थितिमा हामीले आवाज उठाएका हांै ।

भनेपछि लोकतन्त्रको ठेक्का एमालेले मात्रै लिएको छ, हो ?

होईन । हामी ठेक्कामा विश्वास गर्दैनौ । तर लोकतन्त्रको बिरुद्धमा हाम्रै पार्टीका साथीहरु लागेको खण्डमा पनि हामी छोड्दैनांै ।

७ नम्बर प्रदेशमा काँग्रेस पहिलो हुन्छ भन्न थालिसके नि ? तपाईको आंकलन के छ ?

लेखेर राख्नुहोस ७ नम्बरमा एमाले पहिलो पार्टी हुन्छ । परिणाम हेर्नुस । तालमेल नभएको भए माओवादीलाई टुकी बालेर खोज्नुपथ्र्यो । काँग्रेसलाई टुप्पोबाट हेर्नुपथ्र्यो । त्यही भएर त एउटा टाउको काट्ने र अर्को मुल्य तोक्ने कुन सिद्धान्तले एक भए त ? तर उनीहरु पराजित मानसिकतामा पुगेर यस्तो गरेका छन् ।

७ नम्बर प्रदेशमा एमाले दोस्रो स्थानमा आयो भने के गर्नहुन्छ ?

हामी लोकतन्त्रलाई विश्वास गर्छौं। हामी ढुङ्गामुढा गर्दैनौ । चितवनमा जस्तो आफ्नी छोरीलाई उचालेर मतपत्र च्यात्न लगाउनेजस्तो काम हामीले गर्दैनौ ।

प्रचण्डले एमालेलाई धेरै गुण लगाएको छु, माधव नेपाल, झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री, विद्याभण्डारीलाई राष्ट्रपति बनाएँ तर एमालेले देखेन भन्नु भएको छ नि?

उहाँले बिर्सिनु भएछ । बालुवाटारमा आउँदा प्रचण्डलाई प्रधानमन्त्री हुनबाट बञ्चित गराउन खोज्ने तत्कालिन कांग्रेस पार्टी सभापति गिरिजाप्रसाद कोइराला हुन । त्यतिबेला मैले नै उहाँलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर भनेको थिएँ । त्यो चाहीँ गुण होईन ? हामी सबैलाई सम्मान गर्छौं । लोकतन्त्र र संविधान कार्यान्वयनको लागि ७० प्रतिशत जनताले खासगरी यो संविधानलाई कार्यान्वयन गर्नको लागि जनमत दिएका छन् । जनताको यो मतलाई कदर गर्नुपर्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्