Logo

एनआरएनएसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ अभियान सुरु



काठमाडौं, असार १५ । गैरआवासीय नेपाली संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ अभियान सुरु गरेको छ । संघले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ अभियान सुरु गरेको हो ।

बिहिबार विमानस्थल परिसरमै एक कार्यक्रम आयोजना गरी सफाइ अभियान सुरु गरिएको छ । ‘अतिथि देवो भवः’ नाम दिइएको अभियानको शुभारम्भ गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष भवन भट्ट र नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विश्वभरका पर्यटकहरुमाझ नेपाल सफा र सुन्दर छ भन्ने सन्देश दिन अभियानको सुरुवात गरिएको बताए ।

कार्यक्रममा उपाध्यक्ष भट्टले विमानस्थलको सफाइका लागि आवश्यक अनुभव, जोस, जाँगर र उर्जा आफूहरुसँग रहेको उल्लेख गरे । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिचान भएकाले यसलाई सुन्दर र सफा बनाउन आफूहरु सहभागी हुन इच्छु्क भएको पनि बताए ।

संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन्दर र सफा हुँदामात्रै नेपालको मान र प्रतिष्ठाको विश्वभर चर्चा उल्लेख गर्दै आएको छ । नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलको सफाइ अभियानमा योगदान पुग्ने भएकाले गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढने निर्णय लिइएको उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सफाइ अभियानमा सबैलाई साथ दिन अपिल गरे ।

गैरआवासीय नेपाली संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइका लागि आवश्यक सामग्रीहरुसमेत विमानस्थल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल फोहोर भएको र अव्यवस्थित रहेको गुनासो हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot