Logo

केसीको जर्नल आर्टिकलको खुलासाः जाली नोटको कारोबारभित्र सामरिक स्वार्थ



‘खुल्ला सीमा’ होइन मुख्य कारण
काठमाडौं, २६ असार । शोधकर्ता समेत रहेका पत्रकार दीपेशकुमार केसीको अनुसन्धानमूलक लेखले नेपालबाट हुने जाली नोटको कारोबारको संगठित गिरोह र शक्तिशाली देशहरूको सामरिक स्वार्थको खुलासा गरेका छन् ।

अष्ट्रेलिया र बेलायतमा केन्द्र रहेको इमेराल्ड ग्रुपद्वारा प्रकाशित हुने जर्नल अफ मनी लन्ड्रिङ कन्ट्रोलको सन् २०१७ को भोलुम २० को अंक ३ मा फेक करेन्सी ¥याकेट इन नेपाल्स तराई शिर्षकमा प्रकाशित अध्ययनपत्रले जाली नोटको कारोबारभित्र शक्तिशाली देशहरूको सामरिक स्वार्थको समेत गहिरो अध्ययन गरिएको छ ।

नेपाल र भारतबीच रहेको खुल्ला आवत्जावत्लाई अन्तरसीमा अपराधको मुख्य कारण भनिने गरिएकोमा केसीको अध्ययनले त्यसलाई गलत प्रमाणित गर्न खोजेको छ । खुल्ला सीमालाई दोष दिएर विभिन्न देशहरूसम्म फैलिएको संगठित गिरोहहरूले जाली नोटको कारोबारलाई सहज बनाइरहेको अध्ययनपत्रमा उल्लेख छ ।

दक्षिण एशियाको अस्थिरतासँग पनि जाली भारतीय नोटको कारोबार जोडिएको अध्ययनले देखाएको छ । जाली नोटको कारोबारको विषयले तराई क्षेत्रलाई शक्तिशाली देशहरूले छद्म युद्ध गरिरहेको समेत अध्ययनको निष्कर्ष छ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर जाली भारतीय रुपैयाँको कारोबार हुने गरेपनि त्यस्तो कारोबार स्थलमार्गबाट मात्र नभई हवाई मार्गबाट समेत हुनेगरेको तर तराईलाई अन्तरसीमा तथा जाली नोटको कारोबार हुने क्षेत्र भनी ट्याग गर्ने गरिएकोलाई सतही र त्रुटीपूर्ण ठह¥याइएको छ ।

नेपालको विभिन्न जेलको अध्ययन भ्रमण गर्नुका साथै तराईका अधिकांश भागमा लामो समय रहेर अध्ययन गरेका केसीले अध्ययनकै क्रममा जर्नल आर्टिकल लेखेको बताए । सन् २०१६ को अप्रिलमा जर्नलले उनको लेख स्वीकार गरी जुलाई अंकमा प्रकाशित गर्ने पत्र पठाएको थियो ।

जवालहरलाल नेहरू विश्वविद्यालयबाट एमफिल पूरा गरी पिएचडीको शोधपत्र बुझाइसकेका केसीका यसअघि अपराधसँग सम्बन्धित नेपालमा संगठित अपराध, क्राइम एण्ड मनी इन नेपाल, सोसल कजेज अफ इन्डो नेपाल क्रस बोर्डर क्राइम, कजेन एण्ड कन्सिक्वेन्सेस अफ डकैतीः केस स्टडीज अफ काठमाडौं भ्यालीलगायत अनुसन्धानमूलक कृति प्रकाशित छन् ।

उनको अपराध, युवा, तराई/मधेशलगायत विषयमा केही जर्नल यसै वर्ष प्रकाशित हुँदैछ । केसी पछिल्लो समय लो प्रोफाइलमा रहेर अध्ययन तथा अनुसन्धानमूलक कृति लेखनमा लागिरहेका छन् ।

http://www.emeraldinsight.com/doi/abs/10.1108/JMLC-06-2016-0021



प्रतिक्रिया दिनुहोस्