Logo

संविधान संशोधनमा लचिलो बन्ने एमालेको संकेत



काठमडौं ३० असार । -एमालेले मधेसका मुद्दा र समस्या समाधानमा अग्रसर हुने घोषणा गरेको छ । अध्यक्ष केपी ओलीले बिहीबार मधेसका बुद्धिजीवीसँगको छलफलमा आफ्नो पार्टी समस्या समाधानका लागि विशेष अग्रसरताका साथ अघि बढेको बताए । जायज माग र समस्या समाधान गर्न मधेससँगै प्रत्यक्ष संवाद सुरु गरेको उनको भनाइ छ ।

-‘सत्तापक्ष एमालेलाई जानकारी नै नदिई संशोधन प्रस्ताव तयार पार्छ, दर्ता गरेपछि जे–जे तयार छन्, ती सबैमा समर्थन गरिदिनुपर्ने कुरा गर्छ, निर्णय प्रक्रियामा लैजाऔँ भन्दा संसद्बाट प्रस्ताव च्यापेर सत्तापक्ष भाग्छ,’ ओलीले भने, ‘यो देश अरूले होइन, तपाईं–हामी मिलेर बनाउने हो, बुद्धिजीवी साथीहरू भावनामा बहकिएर या आग्रह पालेर होइन, तथ्यसहित बताइदिनुस्, हामी सबै कमजोरी सच्याउन तयार छौँ, यो संवाद एमाले तराईका समस्या समाधानमा अझ तीव्रताका साथ अग्रसर भयो भन्नका लागि आयोजना गरिएको हो ।’ उनले कुनै वैरभाव नराखी सबै मतभेद सुविस्तारसहित खुला दिलले छलफल गरेर समाधान दिन एमाले मैदानमा आएकोसमेत प्रस्ट्याए ।

निर्वाचनपछि संशोधनमा लचक बन्ने संकेत
निर्वाचनअघि २ नम्बर प्रदेशमा गरिने प्रत्यक्ष संवाद र अन्तक्र्रियापछि आउने सुझाबका आधारमा संशोधन गर्न तयार हुने एमालेले संकेत गरेको छ । दोहोरो संवादका क्रममा संशोधनका सन्दर्भमा पार्टीले राख्दै आएको दृष्टिकोण र अडान स्पष्ट पार्ने, तर त्यसैलाई बटमलाइन नबनाउने एमालेले लचिलो नीति अख्तियार गर्ने संकेत देखाएको हो ।

‘पूर्ववत् मान्यता यथावत् छन्, सिद्धान्ततः हामी कहिल्यै संविधान संशोधनको विपक्षमा रहेनौँ, किनकि पहिलो संशोधन नै हामीले ग¥यौँ, तर अहिले प्रस्तावित विधेयकको प्रक्रिया, विषय र समयका हिसाबले उपयुक्त छैन,’ ज्ञवालीले भने, ‘प्रक्रियाका हिसाबले एमालेसँगको परामर्श र सहमतिमा नआएका कारण जवाफ दिन जरुरी रहेन, एमालेलाई कर्नर पार्न राजनीतिक औजारका रूपमा मात्रै संशोधनलाई प्रयोग गरियो, निर्वाचन सकिएपछि तराईवासीको हित हुनेगरी कुनै विषयमा आवश्यक देखियो भने एमाले संशोधनमा लचिलो हुन तयार छ ।’

के भए संवाद कार्यक्रममा ?
कार्यक्रमको सुरुमै ओलीले मधेस समस्या समाधान र एमालेविरुद्ध फैलाइएको भ्रम चिर्न संवाद सुरु गरिएको स्पष्ट पार्दै तराई पछि पर्नुका कारण, एमालेविरुद्ध फैलाइएको भ्रम, त्यहाँका विविधि समस्या समाधानमा पार्टीको दृष्टिकोण प्रस्तुत गरे । तराई सुगम भए पनि तानाशाही र निर्दलीय व्यवस्थाले गरेको विभेद र दमनले दुर्गमजस्तो भएको भन्दै उनले तीन वर्षभित्र ३१ वटा संविधानका मौलिक अधिकार कानुन बनाउनुपर्ने बाध्यकारी व्यवस्था कार्यान्वयन हुँदा स्तर माथि उठ्ने दाबी गरे । २०२० मा मारिएका जनकपुरका दुर्गानन्द झालाई सहिद घोषणा गर्नेदेखि मधेसमा अहिलेसम्मकै बढी विकासको बजेट छुट्याउन आफ्नो नेतृत्वको सरकारले गरेको कामलाई ढाकछोप गर्नेगरी दुष्प्रचार भइरहेको दाबी गरे ।

भाषा संशोधन : हरियो घाँसभित्रको हरियो सर्प
सातौँ शताब्दीमै लिखित ग्रन्थ भेटिने मिथिला संस्कृति नेपालकै पुरानो सभ्यता भएको ओलीको भनाइ थियो । उनले चौधौँ शताब्दीको जंगली युगतिरै विद्यापतिजस्ता महान् चिन्तकको अगुवाइमा दर्शन र शास्त्रबारे छलफल हुने पुण्यभूमिको भाषिक, सांस्कृतिक उत्थानका लागि संविधान संशोधन गर्न एमाले जे–सुकै गर्न तयार रहेको बताए । ‘मिथिलाको उत्थान गर्नेलाई बम पड्काएर मार्ने अनि हिन्दी स्थापित गर्ने षड्यन्त्र पनि भएका छन्, हरियो घाँसभित्र हरियो सर्प घुस्नुहुन्न भन्ने हाम्रो भनाइ हो,’ भाषा संशोधनबारे उनले भने, ‘मैथिली, भोजपुरी, अवधी, थारू भाषा र संस्कृति स्थापित गर्न संविधानमा के संशोधन गर्नुप¥यो, हामी तयार छौँ ।’

एमालेविरुद्ध विदेशी एजेन्सीले पैसा बाँड्यो
ओलीले बुधबार राति एक दूतावासले पैसा बाँडेर कतिपय नेतालाई पार्टी छाड्न दबाब दिँदै सर्वाभौमिकतामाथि नै हमला गर्न खोजेको टिप्पणी गरे । ‘कुनै पनि देशको एजेन्सीले अर्काको देशमा पैसा बाँड्दै पार्टी छोड भन्ने, फलानो पार्टीविरुद्ध लाग्नुपर्यो भन्दै दबाब दिनु जायज हुन्छ ?’ ओलीले भने, ‘हिजो (बुधबार) बेलुकी त्यसै गरेर एजेन्सीमा बैठक टुंगिएको सूचना आएको छ ।’ भारतीय दूतावासलाई संकेत गर्दै ओलीले कतिपय मधेसकेन्द्रित दललाई एमालेविरुद्ध लाग्न उक्साइएको आरोप लगाए ।

एमालेले विषाक्त सुई किन लाउँछ ?
अहिलेको संशोधनको प्रस्ताव विषाक्त हानिकारक भएकाले एमालेले स्वीकार नगरेको उनले स्पष्ट पारे । ‘कसैलाई मैले सुई लगाउन खोज्यो, उसले औषधि सुई भए त मान्न सक्छ, तर विषाक्त औषधिको सुई लगाउन त मान्न बाध्य नहोला नि,’ ओलीले भने, ‘अनि हातमा लिएर सुई नलाउने, ट्याब्लेट पनि नखाने भनिरहन मिल्छ ?’

२ नम्बर प्रदेशमै बढी स्थानीय तह
ओलीले २ नम्बर प्रदेशमा जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या नभएको भन्दै गलत भ्रम फिँजाइएको बताए । ‘५५ लाख जनसंख्या भएको ३ नम्बर प्रदेशमा १ सय १९ तह छन्, जबकि ५४ लाख जनसंख्या भएको २ नम्बर प्रदेशमा आठ सिट बढी १ सय २७ तह छन्, के यो जनसंख्याको अनुपातमा हो कि के हो ?’ ओलीले प्रश्न गरे, ‘डोल्पाभन्दा चार गुना सानो झापामा सातजना सांसद चुनिन्छन्, अनि चार गुना ठूलो दुर्गम डोल्पामा चाहिँ एकजना सांसद पनि बढी भए भन्न खोजिएको हो ?’

ओलीले दिए दुई दर्जन बुद्धिजीवीको जवाफ
कार्यक्रममा तराईबाट प्रतिनिधित्व गर्ने करिब डेढ सय अगुवा बुद्धिजीवी थिए । तीमध्ये वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, सुनिलरञ्जन सिंह, विणा झा, विणा सिन्हा, रामसागर पण्डित, विजय दत्त, राजीव झा, लटनारायण शाह, मोहनकुमार सिंह, आनन्द गुप्ता, परमेश्वर पाठक, वीरेन्द्र केएमलगायत दुई दर्जनजतिले ओलीसमक्ष जिज्ञासा राखेका थिए ।

यस्ता थिए सहभागीको प्रश्न
अधिकांशले ओलीप्रति संविधान संशोधनका लागि अग्रसरता नलिनुको कारण, तराईको समस्याको जिम्मेवार पक्ष, जनसंख्याको अनुपातमा प्रतिनिधित्व, विकासमा पछि पर्नुका कारण, हिन्दी भाषाको विरोध गर्नुका कारण, समस्या समाधानका लागि एमाले प्रत्यक्ष संवादका लागि तराई नझर्नुका कारण, एमालेले लिइरहेको पहललगायतका दर्जन बढी विषयमा केन्द्रित रहेर जिज्ञासा राखेका थिए ।

तराईमा सघन संवाद चलाइने
काठमाडौंमा उपलब्ध तराईका बुद्धिजीवीसँग बिहीबारबाट सुरु गरेको संवादलाई एमालेले प्रदेश नम्बर २ सहित तराईका अधिकांश जिल्लामा गर्ने भएको छ । २ असोजका लागि तय गरिएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले सघन संवादलाई निरन्तरता दिन लागेको हो । २ नम्बर प्रदेशका पनि १ सय २७ तहमध्ये कम्तीमा ५५ प्रतिशत जितेर पहिलो दल बन्ने उसको दाबी छ । ‘मधेसका खास समस्या समाधानका लागि सक्रिय पहल गर्ने कडीकै रूपमा संवाद थालेका हौँ,’ सचिव प्रदीप ज्ञवालीले भने । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्