Logo

चुनावमा अन्तरघात गर्नेलाई नुवाकोट कांग्रेसले कारबाही गर्ने, समिति गठन



८ साउन, त्रिशूली(नुवाकोट) । नेपाली कांग्रेस नुवाकोटले स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गर्न छानबिन समिति गठन गरेको छ ।
कांग्रेसको शनिबार विदुरमा बसेको बैठकले पार्टीका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिका सदस्यमा शिव दाहाल र महेन्द्र थिङ रहेका छन् ।
समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।
जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनका पार्टीका उम्मेदवारलाई असहयोग गर्ने, हराउन सक्रिय हुने र बागी उम्मेदवारी दिनेलाई समितिले छानबिन गरी कारबाहीका लागि सिफारिस गर्ने भएको छ ।

समितिले वडादेखि गाउँपालिका र नगरपालिकामा अन्तरघात गर्नेको सूची तयार पारेपछि कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने केसीले बताए ।

निर्वाचनमा पराजित भएका उम्मेदवारले दुई दर्जनभन्दा बढी उजुरी दिएका छन् । यसैबीच कांग्रेस ३ नंं क्षेत्रीय कार्यसमितिको बैठकले गत वैशाख ३१ मा भएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने मेघाङ देउरालीका रामबहादुर तामाङ, किस्पाङ भाल्चेका लोकबहादुर घले र विदुर नगरपालिकाका कृष्णबहादुर खड्कालाई पाँच वर्षका लागि साधारण सदस्यताबाट निलम्बन गरी जिल्ला कमिटीलाई बुझाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्