Logo

मन्त्रिपरिषद विस्तार आज : नेता थपिने, नयाँ अनुहारको बाहुल्यता



काठमाडौं ११ साउन ।प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्द ा मंगलबार सरकार विस्तार गर्न नसकेका देउवाले बुधबार (आज) आफ्नै दल कांग्रेससहित सत्ता साझेदार दलका डेढ दर्जन नेतालाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

देउवाले आज सरकार सञ्चालनकमा लागि कम्तीमा १८ सारथी थप गर्नेछन् । आजको नागरिकमा खबर छ । चार दलका १९ नेता सरकारमा थपिने निश्चित भएको देउवा निकट नेता विमलेन्द्र निधिले जानकारी दिए ।

राष्ट्रपति कार्यालयमा मंगलबार ४ देखि ५ बजेसम्म मन्त्रीको शपथ गराउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समय लिएको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह मात्र होइन, आफ्नै समूहबाट मन्त्री बन्नेहरूको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएपछि मन्त्रिपरिषद् विस्तार बुधबारलाई सरेको उनीनिकट नेताले बताएका छन् । केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएसँगै प्रधानमन्त्री एवं पार्टी सभापति देउवालगायत नेताले मंगलबार बिहानैदेखि मन्त्रिपरिषद् विस्तारका लागि कसरत गरेका थिए ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित नौ मन्त्रालय पाएको माओवादी केन्द्रले आफ्ना भागमा परेका मन्त्रीहरूको नाम अझै अनुमोदन गराएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताहरूसँगको परामर्शका आधारमा मन्त्रीहरूको नाम टुंगो लगाएको भनिए पनि पार्टीमा औपचारिकता भने दिएका छैनन् । प्रधानमन्त्री देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएपछि मन्त्रीहरूको नाम बिहान बस्ने पार्टी कार्यालयको बैठकबाट अनुमोदन गराउने तयारी माओवादीको छ ।

माओवादीबाट यसअघि कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु साह मन्त्री बनिसकेका छन् । अब ६ मन्त्री पठाउन बाँकी छ । स्रोतका अनुसार गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठलाई मन्त्री बनाउने तयारी छ । महिलाबाट सीता नेपाली वा आशा खनालमध्ये कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन । सीतालाई मन्त्री बनाउँदा प्रदेश नम्बर ४ को प्रतिनिधित्व छुट्ने देखिएपछि आशालाई मन्त्री बनाउनुपर्ने माग उठेको छ ।

माओवादीले शाहीलाई ऊर्जा, श्रेष्ठलाई सामान्य प्रशासन, मण्डललाई आपूर्ति, पोखरेललाई स्वास्थ्य, महिलाबाट प्रतिनिधित्व गर्नेलाई महिला, बालबालिका तथा समाजकल्याण र बस्नेतलाई कृषि विकास मन्त्रालयको जिम्मेवारीमा पठाउन लागेको हो । कृषि विकास मन्त्रालयमा भने कांग्रेससँग अझै माओवादी केन्द्रको कुरा मिलिसकेको छैन । कांग्रेसले माओवादीलाई पशुपक्षी विकास मन्त्रालय दिन खोजेको छ ।

माओवादीमा कम्तीमा दुई महिलाले मन्त्रीकै जिम्मेवारी पाउनुपर्ने माग महिला सांसदले गरिरहेका छन् । पार्टीका ८२ सांसदमध्ये २८ जना महिला रहेकाले नौ मन्त्रालयमा दुई मन्त्री आफूहरूले पाउनुपर्ने उनीहरूको माग छ । दाहालले भने क्षेत्रीय सन्तुलन मिलाउन, जनाधार रहेको स्थानको प्रतिनिधित्व गराउन दुई महिलालाई मन्त्री दिन गाह्रो रहेको बताउँदै आएका छन् ।

मन्त्री बन्नेको सम्भावित सूची

पौडेल समूह
रामकृष्ण यादव
राजन केसी
सञ्जय गौतम
यज्ञबहादुर थापा
देउवा समूह
मीन विश्वकर्मा
अर्जुन जोशी
वीरबहादुर बलायर
अम्बिका बस्नेत
खड्का समूह
मोहनबहादुर बस्नेत
सिटौला समूह
भीमसेनदास प्रधान

माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ । महिलाबाट सीता नेपाली वा आशा खनालमध्ये एक ।
लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव र गोपाल दहितलाई मन्त्री बनाउने तयारी



प्रतिक्रिया दिनुहोस्