भरतपुर मुद्दाको सुनुवाइ फेरि सर्‍यो


काठमाडौं, १२ साउन  । भरतपुर महानगरमा मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको सुनुवाइ फेरि पनि सरेको छ। बिहिबार भएको मुद्दाको सुनुवाइमा सरकार पक्षका वकिलले बहस गरेका थिए। सुनुवाइ सरे पनि आज भतरपुर महानगरमा माओवादी केन्द्र र कांग्रेसकी साझा मेयर उम्मेदवार रेणु दाहालका वकिलले बहस गर्ने छन्।

रिट निवेदक पक्षका वकिलले आइतबार जवाफी बहस गरेपछि सर्वोच्चले मुद्दाको विषयमा निर्णय गर्ने बताइएको छ। भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो। विवादपछि मतगणना स्थगित भयो।

निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो। आयोगको त्यही निर्णयविरुद्ध पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए।

भरतपुरमा सुरूदेखि नै निर्वाचन आयोग सत्ताको प्रभावमा परी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित गराउन लागिपरेको रिटमा उल्लेख छ। यसले भविष्यमा निर्वाचन आयोगको स्वतन्त्रता कमजोर हुने र सत्ताको दबाबमा पर्ने भएकाले विपक्षी दलका उम्मेदवारको सुरक्षा नहुने रिटमा दाबी गरिएको छ।