Logo

प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्न एमालेको सहमति छ : ज्वाला



काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रकाश ज्वालाले प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा गर्नको लागि आफ्नो पार्टीको सहमति रहेको स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘समय थोरै छ, यसमा सरकारले खुट्टा कमाउनुहुँदैन, निर्वाचन आयोगलाई पूरा सहयोग गर्नुपर्छ, समयमै निर्वाचन नगरेर संसदको म्याद बढाउने गलत काममा लाग्नुहुँदैन।’

क्लबका सभापति ऋषि धमलाको सभातित्वमा आयोजित साक्षात्कारमा नेता ज्वालाले दुवै निर्वाचन एकै चरणमा गर्दा राम्रो हुने उल्लेख गर्दै भने,‘दुवै निर्वाचन एकै चरणमा गर्दा राज्यको साधन र स्रोतको पनि बचत हुन्छ, चुनावकै लागि राज्यका शक्तिहरु पटक–पटक होमिनुपर्दैन्।’ एकै चरणमा दुई निर्वाचन गराउनको लागि सरकार र दलहरु तयार हुनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै उनले मधेशवादी दलहरुले पनि अब मोही माँग्ने ढुँग्रो लुकाउने काम गर्न नहुने बताए । उनले थपे,‘उहाँहरुको दल दर्ता पनि हुने, कतिपय ठाउँमा स्वतन्त्र उम्मेद्धवार पनि उठानुपर्ने बाध्यता किन ? स्वस्थ प्रतिष्पर्धामा जाऔं, सबै सहभागी होऔं।’

निर्वाचनसँग राजपाका माँगहरु किन जोडिन्छन भन्ने कुरा आफूले अहिलेसम्मपनि बुझ्न नसकेको भन्दै उनले आश्चर्य प्रकट गरे । ज्वालाले भने,‘संविधान कसैको एकलौटी घोषणापत्रजस्तो होईन, यसमा हाम्रापनि थुप्रै असहमतिहरु छन्, उहाँहरुको पनि छन, तर निर्वाचनमा जाने कुरा अरु विषयसँगको बार्गेनिङ् हुन सक्दैन्।’ उनले राजपालाई बच्चाहरुले दुध खानको लागि बच्चा रोएजस्तो गर्न छोडेर मुद्दामा बहस गर्न आग्रह समेत गरे ।

सरकारले सबै दलहरुलाई एक ठाउँमा भेला पारेर समस्या समाधानको लागि वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले भने,‘समस्या समाधानको लागि राउण्ड टेबलको आयोजना गर्नुपर्छ, यसको लागि सरकार गम्भिर बन्नुपर्छ, वातावरण बनाउनुपर्छ, निर्वाचन कुनैपनि शर्तमा बार्गेनिङ् प्वाईन्ट हुन सक्दैन्।’

 



प्रतिक्रिया दिनुहोस्