Logo

महानगरीय प्रहरी बृत्त गौशलाको नवनिर्मित भवनको उद्घाटन



काठमाडौ, १५ साउन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले महानगरीय प्रहरी बृत्त गौशलाको नवनिर्मित भवनको आज उद्धघाट्न गरेका छन् ।

आईतबार आयोजित एक समारोहबीच उक्त भवनको उद्घाटन उनले गरेका हुन् । साथै उनले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गरे ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक भण्डारीले महानगरीय प्रहरीको कार्यनीति नै जनतासँग सम्बन्ध सुधार गरी समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने रहेको अवस्थामा प्रहरी भवन निर्माणको लागि नागरिकहरूले देखाएको तत्परताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

शान्ति सुरक्षा, अपराध रोकथाम नियन्त्रण र अनुसन्धानको जिम्मा नेपाल प्रहरीको भएता पनि अपराध समाजकै व्यक्तिले गर्ने, त्यसको असर समाजलाई नै पर्ने र अपराधी समाजमै लुकेर बस्ने हुनाले समाजको सहयोग र सहकार्य विना शान्ति सुव्यवस्था कायम गर्न नसकिने कुरा औल्याउँदै नागरिकको सहयोग नै महत्वपूर्ण हुने बताए । उनले भने,‘समाजको सहयोगमा यो भवन निर्माण भएपछि यसले प्रहरी र जनतावीचको सम्बन्धलाई थप मजबुद बनाएको छ।’

भवनले दिएको सुबिधाको उपयोगले मात्र शान्ति सुरक्षा कायम गर्न नसकिने भन्दै जनताले प्रहरीबाट गरेको अपेक्षा पुरा गर्ने कार्यमा अलिकता पनि पछि नहटि कार्य सम्पादन गर्न मातहत कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष रघुनाथ पुरीले जनताको सेवा र शान्ति सुरक्षामा खटिने प्रहरीको निम्ति भवन निर्माण गरि सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताए ।

उनका अनुसार उक्त भवन ६ महिनाको अथक प्रयासबाट वृत्तका प्रहरी प्रमुख नवराज कार्की र आफूहरुको अथक प्रयासबाट निर्माण हुन सफल भएको हो ।
विभिन्न स्थानीय व्यक्ति तथा समाजसेवीहरूको सहयोगमा कुल २२ लाख ७ हजार २ सय ६२ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए ।

उक्त कार्यक्रममा सो वृत्तका प्रमुख समेत रहेका डिएसपी कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा प्रहरीले जनतामा पुर्याउने थप सेवा सुविधा उल्लेखनीय सहज हुने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्