Logo

क्षेत्र निर्धारण आयोगलाई २४ सै घण्टा सहयोग रहन्छ : प्रधानमन्त्री



काठमाडौँ, १५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तयार पार्न सरकारबाट आवश्यक सबै सहयोग आयोगलाई उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमलनारायण दास लगायतका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले आयोगलाई २४ सै घण्टा सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु तोकिएकै समयभित्र आफ्नो काम सम्पन्न गर्नुहोस्, तपाईंहरुलाई सरकारबाट चाहिने आवश्यक सहयोग २४ सै घण्टा दिन तयार छौँ ।”

प्रधानमन्त्रीले आगामी माघ ७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकारले तोकेको समयभित्र क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाउने विश्वास पनि व्यक्त गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले २१ दिनको समयावधि तोकेर क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगले यही साउन ११ गतेदेखि काम सुरु गरेको छ । आयोगका पदाधिकारीले सबै राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरी छिट्टै विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा अध्ययन टोली खटाउने तयारी गरिरहेको जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्