Logo

दलभित्र चर्किदै पदीय विवाद : मुख्य नेतापछि हानथाप गर्नेहरु को को हुन् ?



काठमाडौं १७ साउन । नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच पदीय विवाद छ । पार्टी शिर्ष नेतृत्वमा विवाद नभए पनि त्यसपछिको नेता को भन्नेमा भने सबैजसो दलमा हानथाप छ । मुख्य नेतापछि को भन्नेमा नेताबीच देखिएको ‘टसल’का कारण कतिपय अवस्थामा दलका बैठक प्रभावित हुने गरेको छ । आन्तरिक रुपमा नेताहरुको बरियता निर्धारण गर्न नसक्दा कांगे्रस माओवादीदेखि राष्ट्रिय जनता पार्टी राजपा र नयाँ शक्तिसम्ममा विवाद देखिएको छ । एमालेले भने यो विषय पदीय हैसियतअनुसार नै टुंगो लगाएका कारण विवाद त्यति सुन्नमा आएको छैन ।

गत शुक्रबार माओवादी केन्द्रको कार्यालय बैठकमा यो विषयले औपचारिक प्रवेश पयो । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । माओवादीका एक उच्च नेताका अनुसार कार्यालय सदस्य मणि थापाले माओवादी बैठकमा यो विषयलाई प्रवेश गराएका हुन् । मुख्य तीन नेता अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापापछि उनीहरूसँगै बस्ने नेताको पनि टुंगो लगाउन थापाले माग गरेका थिए ।

प्रतिवेदन बुझाउन सकेन
कांग्रेसमा नेताहरूको वरीयता निर्धारण गरिएको छ । तर, वरीयतामै नेताहरूको असन्तुष्टि छ । गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङसहित पाँच नेताले असन्तुष्टि जनाउँदै अझैसम्म पार्टी बैठकका ‘माइन्युट’ मा हस्ताक्षर गरेका छैनन् । वरीयता विवाद निरुपण गर्न ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति नै बनेको छ । तर, उक्त समितिले नौ महिनादेखि प्रतिवेदन बुझाउन सकेको छैन ।

माओवादी केन्द्रमा दाहालपछि को ?
माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालपछि पदीय हैसियतमा कुन नेता रहने भन्ने टुंगो लागेको छैन । सामान्यतया दाहालपछि नारायणकाजी श्रेष्ठ र उनीपछि रामबहादुर थापा भनेजस्तो देखिन्छ । यद्यपि, यो माओवादीको आधिकारिक निर्णय होइन । यी तीन शीर्ष नेता ‘कुम जोडेर’ पार्टी बैठकदेखि अन्य कार्यक्रममा बसे पनि उनीहरूको छेउमा को बस्ने भन्ने हानथाप छ ।

नयाँ शक्तिमा विवाद ​
नयाँ शक्तिमा डा. बाबुराम भट्टराईपछिको नेता को हुने भन्नेमा विवाद छ । जसकारण उसले पनि एक वर्षको यो अवधिमा कुनै नेताको पनि वरीयता निर्धारण गरेन । अहिले स्थानीय तहको निर्वाचनपछि त झन् उसले केन्द्रीय समिति नै विघटन गरेर भट्टराईको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ । रामचन्द्र झा, दुर्गा सोव, देवेन्द्र पौडेल, केशव दाहाल, गंगानारायण श्रेष्ठलगायत नेताले भट्टराईपछिको वरीयताका लागि आफूलाई प्रस्तुत गरिरहेका छन् ।

किन निम्तन्छ विवाद ?
विचार, राजनीति र कार्यदिशा समान भए पनि दलभित्रै नेताबीच द्वन्द्व, प्रतिस्पर्धा र सहकार्य भइरहेका हुन्छन् । खास सन्दर्भमा अन्य पार्टीसँग प्रतिस्पर्धाका बेला आन्तरिक पार्टी एकढिक्का भएको देखिए पनि अन्य बेला भने द्वन्द्व बढ्ने राजनीतिशास्त्री कृष्ण पोखरेल बताउँछन् । नेपालका सन्दर्भमा राजनीतिक दलभित्र मुख्य नेतापछि को बन्ने भन्नेमा अलिक बढी नै आन्तरिक विवाद रहेको पोखरेलको बुझाइ छ । त्यस्तो अवस्था आउनुमा भने पार्टी अध्यक्षलाई चुनौती दिन सक्ने गरी अन्य नेताको ‘पावर’ नहुनु प्रमुख कारण भएको उनले बताए ।

‘एकै पार्टीका नेतामा पनि द्वन्द्व हुन्छ, यो जहाँ पनि देखिन्छ । पार्टीभित्रै नेताबीच प्रतिस्पर्धा हुने, जति माथिल्लो तहमा पुग्छन्, त्यति नै अवसर साँघुरिँदै जाने र त्यस्तो साँघुरिने अवसरमा आफ्नो पावर कायम राखिरहन दलभित्रै नेताबीच विवाद, प्रतिस्पर्धा हुन्छन्,’ पोखरेलले भने, ‘अहिले पनि दलमा यही अवस्था देखिन्छ ।’



प्रतिक्रिया दिनुहोस्