Logo

सुतेकै अवस्थामा ढुंगाले घर थिच्यो, तीनजनाको मृत्यु



काठमाडौं १७ साउन । बेलुकीको खाना खाएर परिवारका सबै सदस्य एउटै ओछ्यानमा सुते । भोलिपल्ट बिहानै उठेर घरधन्दामा जुट्ने उनीहरूको योजना थियो । सबैजना मस्त निदाएका थिए । मध्यराति घरमाथिबाट ठूलो ढुंगा खस्यो । ढुंगाले घर नै च्यापेपछि उनीहरू भाग्नै पाएनन् । छिमेकी पुग्दा तीन जनालाई मृत भेट्टाए । दुई जनाको भने बेहोस अवस्थामा उद्धार भयो ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आइतबार मध्यराति भएको यो घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित काव्रा गाउँमा घरमाथि भीरबाट खसेको ढुंगाले च्याप्दा तीन जना बालबालिकाको ओछ्यानमै ज्यान गएको हो । घटनामा स्थानीय बुदे सार्कीका दुई छोरी र एक छोराको मृत्यु भएको छ । एउटै ओछ्यानमा सुतेका बुदे र उनकी श्रीमती बेलुलाई भने छिमेकीले घाइते अवस्थामा उद्धार गरेका छन् । १० वर्षीया ललिता, आठ वर्षीय लंकबहादुर र पाँच वर्षीया कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही वडाका वडाध्यक्ष रंगबहादुर सार्कीले भने, ‘परिवारका सबै जना एउटै ओछ्यानमा सुतेका रहेछन्, बच्चालाई बचाउन सकिएन । बाबुआमालाई मात्र घाइते अवस्थामा बाहिर तान्यौं, उनीहरूको पनि अवस्था गम्भीर छ ।’

बुदे बोल्न सक्ने अवस्थामा छैनन् । तर, कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएकी बेलुलाई शरीरको चोटले भन्दा सँगै सुतेका सबै सन्तान गुमाउँदाको पीडाले पोलेको छ । काखैबाट तीन सन्तान खोसिएपछि उनी भक्कानिएकी छन् । पीडाको घाउ थप बल्झिएको छ । बेलुले पोखेको पीडा उद्धृत गर्दै वडाध्यक्ष रंगबहादुरले भने, ‘खाना खाएर एउटै ओछ्यानमा सुतेका थियौं, मेरो घरमा के यस्तो विपत्ति आइलाग्यो ? ओछ्यानबाटै मेरा मुटुका टुक्रा चुँडिए, निस्ठुरी दैवले हामीलाई पनि किन सँगै लगेन ?’ –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्