Logo

अचाक्ली मूल्यमा खोला र बगर



काठमाडौं १७ साउन । आयल निगमले पेट्रोलियम भण्डारणका लागि भन्दै मध्यक्षेत्रका विभिन्न जिल्लामा खोला र बगरको जमिन चलनचल्तीको भन्दा धेरै मूल्यमा खरिद गरेको पाइएको छ। रूपन्देहीको भैरहवा, चितवनको पिप्ले र सर्लाहीको नवलपुरमा अस्वाभाविक मूल्यमा जमिन किनिएको हो।
भैरहवामा खरिद गरेको जग्गा बर्सेनि दुई पटक डुबानमा पर्छ। भैरहवा–परासी हुलाकी राजमार्गअन्तर्गत रोहिणी पुलदेखि उत्तर रोहिणी किनाराको १४ बिघा ७ कट्ठा जमिन निगमले भण्डारणका लागि खरिद गरेको हो। बालुवा थुप्रिएकाले उक्त जग्गामा सम्बन्धित धनीले खेती गर्दैनथे। स्थानीयले गौचरणका रूपमा प्रयोग गर्दै आएका थिए। उपयोगमा नआउने भएकाले बिक्री पनि हुँदैनथ्यो। यही जग्गा भूमाफिया र जग्गा दलालमार्फत चलनचल्तीको मूल्यभन्दा अत्यधिक महँगोमा निगमले खरिद गरेको छ।

 

सम्बन्धित जग्गाधनीबाट आफ्नो स्वामित्वमा ल्याएर तत्काल त्यही जग्गालाई अत्यधिक महँगोमा निगमलाई खरिद गराएर करोडौं रुपैयाँ ‘झ्वाम’ पार्ने यस खेलमा भूमाफिया र जग्गा दलालसँगै निगमका उच्च ओहदाका कर्मचारी र सञ्चालक समितिकै कतिपय पदाधिकारीको मिलेमतो रहेको आरोप र चर्चा स्थानीय तहमा चल्ने गरेको छ। त्यस क्षेत्रबाट वडाध्यक्षमा निर्वाचित रोहिणी गाउँपालिकाका सरोज पाण्डेले आफूहरू निर्वाचनका समयमा व्यस्त रहेका बेला भूमाफिया र दलालले मौका छोपेको बताए। ‘किन त्यति महँगोमा उपयोगविहीन जमिन सरकारी निकायले खरिद गर्‍यो? आश्चर्य लागेको छ,’ पाण्डेले भने, ‘यसबारे सरकारीस्तरबाटै छानबिन गरिनु जरुरी छ।’ विभिन्न कित्तामा रहेका ती जमिन मिलाउन भूमाफियाहरू महिनौंसम्म लागेको उनले बताए।

प्रतिकट्ठा बढीमा डेढ लाख रुपैयाँ पर्ने उक्त जमिन खरिद गर्दा निगमले प्रतिकट्ठा १० लाख ७५ हजार रुपैयाँ तिरेको छ। कागजमा जग्गादाता देखिएका व्यक्तिले तत्काल सम्बन्धित जग्गाधनीलाई मालपोत परिसरमै प्रतिकट्ठा ३ लाख रुपैयाँका दरले चेक उपलब्ध गराएका थिए। वास्तविक जग्गाधनीलाई प्रतिकट्ठा ३ लाख रुपैयाँ थमाएर भूमाफिया र दलालले भने निगमबाट १० लाख ७५ हजारका दरले असुले। भूमाफियाले केही जमिन पहिला आफ्नो स्वामित्वमा ल्याएर र केही अधिकृत वारेसनामा गराई निगमलाई उपलब्ध गराएका थिए।
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले यस विषयमा आफूलाई कुनै जानकारी नभएको र निगमका कुनै पनि कर्मचारी तथा बोर्ड सञ्चालक समितिका कसैले पनि आफूसँग कुनै कुरा नगरेको बताए। निगमका नाममा जग्गा पास गर्दाको अवस्थामा भैरहवा आइपुगेका आयल निगमका प्रबन्धक पुष्कर कार्कीले ती जग्गा खरिद गर्न निगमले आफूलाई प्रतिनिधिका रूपमा खटाएकाले आफ्नो रोहवरबाट रजिस्ट्रेसन पास भए पनि अन्य जानकारी नभएको फोनबाट बताएका छन्।

‘यसबाहेक जग्गाको प्रकृति र अन्यबारे मलाई कुनै जानकारी छैन,’ उनले भने, ‘खरिद गर्नुअघिको जग्गाको स्थलगत प्रतिवेदन र निगमको बोलपत्र कबुल गर्ने व्यक्तिका बारेमा पनि म अनभिज्ञ छु।’

मालपोत कार्यालयका अनुसार निगमलाई जग्गा उपलब्ध गराउनेमा रौतहट पोराई–१ का अनन्तप्रसाद घिमिरे र ठेगाना नखुलेका हरिप्रसाद पोखरेल, काभ्रे कुशादेवी–३ का विश्वास अधिकारी पनि छन्। हरिप्रसाद पोखरेलले जिल्ला अदालतबाट अधिकृत वारेसनामा ल्याई स्थानीय केही जग्गाधनीको जग्गा पास गराएका छन्। असार २८ गते मालपोतबाट निगमले आफ्नो नाममा पास गरेको हो। स्रोतका अनुसार माफियाले भैरहवास्थित होटल निर्माणाको १०५ नम्बर कोठा धेरै दिनसम्म बुक गरी सबै चाँजोपाँचो मिलाएका थिए।



प्रतिक्रिया दिनुहोस्