Logo

नेपाल लोकतान्त्रिक फोरमले मनायो आठौं वार्षिकोत्सव (फोटोफिचर)



काठमाडौं, १७ साउन । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आ–आफ्नो जिल्लाबाट स्थानीय तहमा उम्मेदवार जिताएर ल्याउनेलाई पुरस्कार दिने घोषणा गरेका छन् ।

लोकतान्त्रिक फोरम ८ औं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गच्छदारले सो घोषणा गरेका हुन् । यद्यपी उपहार के दिने त्यसको घोषणा गरेनन् ।

असोज २ गते हुन गइरहेका तेस्रो चरणको स्थानीय तहको चुनावमा प्रत्येक नेताले आआफ्नो जिल्लाका नगरपालिकाको मेयर, नभए उपमेयर, त्यो पनि नभए गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष नभए वडा अध्यक्ष अथवा सदस्य जसरी पनि जिताउनु पर्ने निर्देशन दिँदै उनले जिताएर ल्याउनेलाई उचित पुरस्कार दिने घोषणा गरेका हुन् ।

कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, तपाईहरु कुनै न कुनै जिल्लाका अवश्य हुनुहुन्छ, त्यसो भए पक्कै पनि कुनै गाउँको वा नगरपालिका वा वाडाको मतदाता हुनुहुन्छ होला, त्यसैले तपाईको कर्तव्य हो एकजनालाई जसरी पनि जिताउने ।’ उनले राजपा नेपाल र फोरम नेपालको जस्तोसुकै आलोचना गरेपनि चुनावमा कार्यगत एकता गर्ने प्रस्ताव गरेका छन् ।

स्थानीय तहको चुनावमा राजपा नेपाल, फोरम नेपाल र लोकतान्त्रिक फोरम मिलेर चुनाव लड्यो भने मधेशमा पहिलो पार्टी हुने र देशमा तेस्रो पार्टीको रुपमा स्थापित हुने विश्वास पनि उनले व्यक्त गरे । उनले भने, उनीहरुले यो कुरालाई कतिको बुझेका छन् मलाई थाहा छैन, तर, यी तीन दलबीच तालमेल होस् भनि म आफंै प्रस्ताव गर्छु ।’

त्यसैगरि, उनले प्रदेश तथा केन्द्रको चुनावमा आफ्नो पार्टीले यस्तो मत ल्याउने छ जसले गर्दा आफ्नो पार्टीबाहेक कसैको सरकार नबन्ने दावी गरे । अगामी दिनमा लोकतान्त्रिक फोरम निर्णायक शक्तिका रुपमा आउने बताउँदै उनले आफ्नो पार्टी जोसँग सहकार्य गर्छ त्यही पार्टी एक नम्बरको पार्टी हुने दावी गरे ।

उनले भने, काँग्रेससँग तालमेल गर्दा काँग्रेस एक नम्बरको पार्टी बन्छ, एमालेसँग गर्दा एमाले एक नम्बरको पार्टी बन्छ, माओवादसँग गर्दा माओवादीको पनि पोजिसन राम्रै हुन्छ ।

तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्