Logo

चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्यचुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य



इलाम, १७ साउन । जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकाका बासिन्दा वर्षाैंदेखि कष्टप्रद जीवन बिताउन बाध्य छन् ।

गाउँपालिकामा अहिलेसम्म पनि खानेपानी, विद्युत् सेवा, सिँचाइ, र यातायातको उचित व्यवस्थापन नहुँदा स्थानीय बासिन्दाको जीवन कष्टप्रद बनेको हो ।

झापासँग सिमाना जोडिएको यस गाउँपालिकाका बासिन्दाले झापाले नहेरेको, इलामले नदेखेको बताउँछन् । चुलाचुलीलाई खोलै खोलाले घेरेपनि त्यहाँ रहेका खोलामा पुल नबन्दा वर्खा याममा झनै समस्या भएको छ । बिरामी पर्दासमेत बर्खाको समयमा उपचार नपाउने चिन्ताले सताएको छ । यस गाउँमा विद्युत् नहुँदा सानो कामका लागि पनि झापाको दमक जानुको विकल्प छैन ।

चुलाचुलीमा खेतीपाती झापाको जस्तै हुन्छ तर स्थानीयले भने सिँचाइ सुविधा नहुँदा खेतीका लागि आकाशे पानीकै भर पर्नुपर्छ । चुलाचुली–५ की अम्बिका भण्डारी सिँचाइ सुविधा नहुँदा खेती गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको बताउनुुहन्छ । “समयमा पानी नपर्दा खेत बाँझै छन्, वरिपरि खोला त छन् नि तर सिँचाइको उचित प्रबन्ध नहुँदा रोपाइँ गर्न पाइएको छैन्” उहाँ भन्नुहुन्छ ।

पानी पर्दा सडक र खोलाकै चिन्ता, पानी नपर्दा खेती नहुने चिन्ताले चुलाचुलीका बासिन्दालाई रात दिन पिरोल्ने गरेको छ । रतुवा, कमल, चाँजु, बुकुवालगायत साना–ठूला गरी एक दर्जनभन्दा बढी खोलाले घेरेको यो गाउँपालिकामा स्थानीयलाई पानी पर्नसाथ कसरी दैनिकी चलाउने भन्ने चिन्ताले सताउने गरेको छ ।

चुलाचुली गाउँपालिकाको छवटै वडामा अहिलेसम्म एउटा पनि कालोपत्रे सडक छैन । खोलामा पुल नहुँदा बर्खामा इलाम र झापाको सम्बन्ध टुट्ने गरेको चुलाचुली–५ का भक्तबहादुर विश्वकर्मा बताउनुहुन्छ, “दमकसँग हाम्रो प्रत्यक्ष सम्बन्ध छ, दैनिकी चलाउनसमेत दैनिक दमक गएर काम गर्छाैैं तर खोलामा बाढी आयो भने हामी दमक पनि जान सक्दैनौँ ।”

खानेपानीको मुहान नहुनुका साथै सरकारी निकायबाट कुनै व्यवस्था नहुँदा घण्टौँ पर्खिएर खानेपानी ल्याउन स्थानीय बासिन्दा बाध्य छन् । ट्युबेल गाड्दासमेत पानी नआएपछि टाढा रहेका पानीको मुहानमा घण्टौँ पर्खिएर आफूहरू खानेपानी ल्याउन बाध्य भएको विश्वकर्माको दुःखेसो छ ।

दुई दशक अघिदेखिनै गाउँमा खानेपानीका धारा जडान गरिए पनि पानी नआउने समस्याले स्थानीय बासिन्दालाई पीडित बनाएको छ । खानेपानीका लागि लाइन बस्नुपर्छ, १० घरले एउटा इनारमा पानी खान्छौँ, एक गाग्री पानी भर्न एक घण्टा लाग्छ, राति कोही नभएको मौका छोपेर पानी लिन जानुपर्ने बाध्यता छ । झापामा झलमल्ल बिजुली बल्छ । इलाम चुलाचुलीवासी भने त्यही बलेको बिजुली हेरेर बस्न बाध्य छन् । स्थानीयले आफैँ पैसा उठाएर चुलाचुली–४ को केही स्थानमा भने बिजुली पु¥याएका छन् तर, अन्य क्षेत्रमा भने अझै बिजुली पुगेको छैन ।

चुनावका बेलामा नेताले बिजुली, सडक, खानेपानी पु¥याउने आश्वासन दिएका छन्, तर ती आश्वासन अब पूरा हुने हुन् या होइनन् हेर्न बाँकी रहेको चुलाचुली–५ का यामु गहतराज बताउनुहुन्छ ।

यो गाउँपालिका पछि पर्नुमा भौगोलिक कारण रहेको पूर्व गाविस अध्यक्ष ओमनारायण खनाल बताउनुहुन्छ । चुलाचुलीमा २०६६ सालयता थोरै मात्र मात्र विकास भएको छ । हालै निर्वाचित चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राई गाउँ कार्यपालिकाको पहिलो बैठकले विद्युतीकरणलाई प्राथमिकता दिने त्यसपछि खोलामा पुल, सडकलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्