Logo

हाम्रो सार्वभौमिकताको संरक्षण गर्न हामी सक्षम छौँ : राष्ट्रपति सि



बेइजिङ, १७ साउन । चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफै सक्षम छ भन्नुभएको छ ।

उहाँले भन्नुभयो ‘हामीले कुनै पनि हालतमा र कुनै जनता, कुनै पनि संगठन वा अरु कसैलाई पनि देशका विरुद्धमा प्रयोग हुन वा चीनको भूभागमा पृथकतावादी क्रियाकलाप हुन दिदैनौँ, यसका लागि हामी आफै एकदमै सक्षम र बलिया छौँ ।’

चिनियाँ सेनाको ९० औँ वार्षिकोत्सवका अवसरमा दिनुभएको सन्देशमा राष्ट्रपति चिनफिङले सो धारणा राख्नुभएको हो ।

चिनियाँ भूभागलाई कसैले पृथकतावादीको पक्षमा पार्न खोज्ने वा यहाँ देशको सार्वभौमिकताको विरुद्धमा चलखेल गर्न खोज्ने खेल भयो भने हामीले जुनसुकै हालत र अवस्थामा पनि त्यसलाई निस्तेज र असफल बनाउन सक्छौँ त्यसका लागि हामी आफै सक्षम छौँ– उहाँले भन्नुभयो ।

बेइजिङको ग्रेट हल अफ द पिपुलमा मङ्गलबार उपस्थित भएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्न्नुभएको हो ।
राष्ट्रपति चिनफिङले सन् २०१२ मा आफ्नो कार्यभार सम्हालेपछि राष्ट्रियताको विषयमा निकै कडा अभिव्यक्ति दिँदै आउनुभएको छ ।

उहाँले देशभित्र हुनसक्ने पृथकतावादी क्रियाकलापहरुमा पनि कडा प्रशासनिक निगरानीका लागि निर्देशन दिनुभएको छ ।

चिनियाँ जनसेनाको स्थापनाको ९० औँ वार्षिकोत्सवको अवसरमा चीनमा केही दिनयतादेखि बार्षिकोत्सव समारोह र विभिन्न कार्यक्रम सञ्चालन भइआएका छन् । रासस/एएफपी



प्रतिक्रिया दिनुहोस्