Logo

संरचना बदल्दै सेना



काठमाडौं १८ साउन ।
नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाले आफ्नो संरचना परिवर्तन गर्न लागेको हो ।

सरकारको निर्णयअनुरूप हरेक प्रदेशमा नेपाली सेनाको पृतनालाई मुख्यालयका रूपमा राखेर त्यसअनुसारको कमान्ड संरचना तथा संख्या तय गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको सम्बद्ध स्रोतले जानकारी दियो । जसअनुसार संख्या नबढाई संरचना चुस्त बनाउँदै दुई पृतना थप्ने तयारी छ । सेनामा संख्या पनि बढाउने बहस भए पनि हाललाई यही संख्याबाट पद मिलान गर्दै पृतना थप्न लागिएको हो ।

नवनियुक्त रक्षामन्त्री भीमसेनदास प्रधानले सेनाको संगठन पुन:संरचनालाई प्राथमिकतासाथ अघि बढाउन लागिएको कान्तिपुरलाई बताए । २०७२ फागुनमा गठित ‘रक्षा मन्त्रालय र नेपाली सेनाको सांगठनिक पुन: ढाँचासम्बन्धी अध्ययन कार्यदल’ ले दिएको सुझावका आधारमा काम अघि बढाइएको उनले बताए । सेनाको वर्तमान संरचना विकास क्षेत्र, अञ्चल र जिल्लामा आधारित छ । देशको राजनीतिक तथा प्रशासनिक विभाजनअनुसार बनाइएको यसखाले सैनिक संरचनालाई अब प्रादेशिक तहमा लगिनेछ ।

उपत्यका र हरेक प्रदेशमा पृतना मुख्यालय राख्ने गृहकार्य अन्तिम चरणमा पुगेको सेनाका प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले जानकारी दिए । नयाँ संरचनाअनुसार पृतनाहरूको संख्या ८ हुने भएकाले दुई पृतनापतिको व्यवस्थापनका लागि दरबन्दी समायोजन तयारीसमेत अन्तिम चरणमा पुगेको सैन्यस्रोतले जनायो । अहिले पाँच विकास क्षेत्र र राजधानीमा गरी सेनाका ६ वटा पृतना छन् ।

पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको हेटौंडा, पश्चिमाञ्चलको पोखरा, मध्यपश्चिमाञ्चलको सुर्खेत र सुदूरपश्चिमाञ्चलको धनगढी तथा उपत्यकामा एउटा पृतना मुख्यालय छ । अब दुई नम्बर र पाँच नम्बर प्रदेशमा पृतना थपिनेछन् । हरेक प्रदेशमा पृतना रहने र त्यो क्षेत्रको कमान्ड त्यही पृतनाबाट रहने भए पनि मुख्य कमान्ड भने केन्द्रीय प्रणालीबाट हुनेछ । सुरक्षाको नेतृत्व पनि केन्द्रमै रहनेछ ।

पृतनाले आफ्नो प्रदेशअन्तर्गतका सबै बाहिनी, गण, गुल्म तथा अन्य युनिटहरूको समन्वय गर्ने गरी नयाँ संरचना तय गर्न लागिएको स्रोत बताउँछ । सेनाको कमान्ड संरचनामा तीन टुकडी बराबर एक गुल्म, तीन गुल्म बराबर एक गण, तीन गण बराबर एक बाहिनी र तीन बाहिनी बराबर एक पृतना रहन्छन् ।

सबै प्रदेशमा सुरक्षा सन्तुलन र कमान्ड संरचना मिलाउन संख्यादेखि अन्य दरबन्दीसमेत हेरफेर गर्न लागिएको सैन्य अधिकारीले जनाए । संरचनामा हेरफेर भए पनि तत्काल दरबन्दी तथा संख्या भने बढ्ने छैन । नेपाली सेनामा हाल करिब ९६ हजारको संख्यामा दरबन्दी छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्