Logo

केसीको समर्थनमा आजदेखि बहिरंग सेवा बन्द



काठमाडौं १८ साउन ।
सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच मंगलबार भएको पाँचौपटकको वार्तासमेत अनिर्णित भएको छ । केसीको ११ औं अनसनको नवौं दिन भएको वार्तामा सहभागी उनका प्रतिनिधि डा.अभिशेकराज सिंहले पाँचौ वार्तामा समेत कुनै निष्कर्षमा पुग्न नसकिएको बताए । उनले डा.केसीको मुख्य माग चिकित्सा शिक्षा ऐनलाई आफूले दिएको सुझावअनुसार संसद्‌बाट पारित गर्नु पर्ने कुरामै वार्ता अडिइरहेको बताए ।

वार्ता अर्निणित भइरहेका बेला स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐनलाई माथेमा प्रतिवेदनको मूल भावनाअनुसार संसद्‌बाट पारित गराउन आफूहरु लागि परेको बताउँदै डा.केसीलाई हालको लागि अनसन स्थगन गर्न आह्वान गरेका छन् । पोखरेलले मंगलबार शिक्षामन्त्री गोपालमान श्रेष्ठ, संसद्को महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रन्जु झा, पूर्वस्वास्थ्यमन्त्री गगन थापा र मेडिकल काउन्सिलका पदाधिकारीसँग आफूले छलफल गरेर निकास निकाल्न गृहकार्य गरेको पनि बताए । ‘शिक्षा ऐनलाई माथेमा आयोगको मूल मर्मअनुसार संसदबाट पारित गराउन केही समय लाग्छ,’ पोखरेलले कान्तिपुरसँग भने, ‘डा. केसीले यो मर्मलाई समातेर हालको अनशन स्थगन गर्नुभए सकारात्मक हुने थियो । छिटो मात्रै गराउन खोज्दा ऐनको मूल मर्मबाट टाढिनु हुन्न ।’

आवासीय चिकित्सकले बुधबारदेखि बहिरंग सेवा बहिस्कार गर्ने

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि पठनपाठनलगायत बहिरंग विभागको उपचार सेवामा सरिक नहुने जनाएका छन् । शिक्षण अस्पतालमा करिब ३ सय ५० जना आवासीय चिकित्सक छन् । आवासीय चिकित्सकहरुको संगठन नेसनल रेजिडेन्ट डाक्टर्स एशोसिएसले प्रा.डा.गोविन्द केसीको आमरण अनसनको समर्थनमा सरकारलाई थप दबाब दिन शैक्षिक कार्यक्रमअन्तर्गत पठन पाठनमा सरिक नहुनको साथै बहिरंग विभागअन्तर्गत उपचार सेवामा सरिक नहुने जनाएको हो ।

‘सरकारले हाम्रो विरोधलाई वास्ता नगरे डा.केसीको जीवनरक्षा गर्न शल्यक्रिया कक्ष बहिष्कारलगायत थप कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने छौं’, एशोसिएसनका महासचिव डा. अमितकुमार यादवले भने, ‘सरकार संवेदनशील नदेखिएपछि जनहितका माग सम्बोधनको लागि हामीले गरेको भेलाले बहिरंग सेवामा उपस्थित जनाउन छोड्ने निर्णय गरिएको हो ।’ डा.केसीको आमरण अनशन मंगलबार नवौ दिनमा पुगेपछि स्वास्थ्यमा देखिन सक्ने जटिलता आदिलाई दृष्टिगत गर्दे कडा विरोध गर्न लागेका हुन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्