Logo

महन्थ ‘यु–र्टन’ भएपछि राजपाभित्र विवाद चुलियो, संसद छोडेर सडकमा जानेसम्मको बहस सुरु



काठमाडौं, १८ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुवीच नै चुनावलाई लिएर मत बाझिएको छ ।

पार्टीका शीर्ष नेताहरुवीच चुनावमा जाने वा नजानेबारेको विवादले अहिले उग्र रुप लिएको खुलासा भएको छ । हुन त राजपाले वर्तमान सरकारले आफुहरुलाइ असोज २ गते हुने प्रदेश नम्बर २ मा हुने चुनावको लागि सहभागी हुने वातावरण नबनाएको आरोप लगाउँदै आएको छ ।

हिजोमात्रै राजपाका महासचिव केशव झाले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सरकारले संशोधन प्रस्ताव पारित गराउन ईमानदार प्रयास गरे आफूहरु चुनावमा सहभागी हुन तयार रहेको बताएका थिए । उनले भनेका थिए,‘सरकारले संशोधन प्रस्ताव पारित गराउन ईमानदार प्रयास गरोस्, हामी खेलको नियम मानेर चुनावमा जान तयार छौं, परिणाम स्विकार गर्न हामी तयार छौं, तर यो सरकारले हामीलाई झुक्याईरहेको छ।’

राजपाको आजबाट सुरु भएको पदाधिकारी बैठकमा समेत चुनावमा जाने वा नजानेबारे शीर्ष नेताहरुको मत बाझिएको राजपा निकट उच्च स्रोतले जानकारी दियो । आजको बैठकमा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले माँग पूरा नभए संसदमा बसिरहनुको कुनै औचित्य नहुने भन्दै संसद छाडेर सडकमा जानुपर्ने प्रस्ताव राखेका थिए ।

तर अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर भने यतिवेला चुनावमा जानुपर्ने पक्षमा उभिएका छन् । उता अर्का शीर्ष नेता राजेन्द्र महतो भने कुनैपनि हालतमा चुनावमा जान नहुने भन्दै आफ्नो पूर्ववर्ती अडानमा यथावत छन् । महतो चुनावमा सहभागी नहनुेबारे एक ईन्चपनि टसमस हुने अवस्था नभएको राजपाकै एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

संशोधन प्रस्ताव पास वा फेल जे भएपनि परिणाम स्विकार गर्न आफूहरु तयार भएको भन्दै उक्त प्रस्तावलाई तत्काल निर्णयार्थ पेश गर्न राजपाले सरकारसँग माँग गरिरहेको छ । तर सरकारले भने अहिले प्रस्ताव पारित हुने अवस्था नभएकोले केही समय थाँती राख्ने मनशाय बनाएको छ ।

सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रवीच नै प्रस्ताव पेश गर्ने वा नगर्ने भन्नेबारे अहिले एकरुपता देखिएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्