Logo

राष्ट्रसंघीय महासचिवद्वारा अफगान हमलाको कडा शब्दमा निन्दा, मृत्यु हुनेको सङ्ख्या २९, ६४ जना घाइते



संयुक्त राष्ट्रसंघ, १८ साउन । अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गर्नुभएको समाचार छ ।

सो हमलामा परी मङ्गलबार नै घटनास्थलमा १५ जनाको ज्यान गएको थियो । त्यस्तै प्राप्त अर्काे एक समाचारमा बुधबार बिहानसम्म मारिएका व्यक्तिको सङ्ख्या २९ पुगेको जनाइएको छ ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा सो आक्रमण अत्यन्तै निन्दनीय रहेको र यस्तो घातक हमलामा सक्रिया हुनेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा महासचिवले जोड दिनुभएको छ ।

‘प्रार्थना गर्न बसेका सर्वसाधारण व्यक्तिलाई यसरी बम हमला गरेर ज्यान लिनु नागरिकको आधारभूत मानअधिकारको गम्भीर हनन् मात्र नभएर मानवताविरुद्धको अपराध हो– सो विज्ञप्तिमा भनिएको छ ।

यस हमलाले नागरिकको बाँच्न पाउने र आफ्नो परम्परा, धर्म र संस्कार अवलम्बन गर्न पाउने अधिकारमाथि हिंसात्मक रुपमा धावा बोलेको कुरा उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको इराकी राजदूतावासमा भएको हमलाको एकदिन पछि यो हिंसात्मक आक्रमण गरी २९ जनाको ज्यान लिइएको छ ।

उक्त दूताबासमा भएको हमलामा परी दुई जना सर्वसाधारण नागरिकको ज्यान गएको थियो । दूताबासका अरु केही कर्मचारी घाइते भएका छन ।

हेरात नगरको एक मस्जिदमा भएको सो हमलामा परी केही बालबालिका पनि मारिएका छन । त्यस्तै महिला र बृद्धबृद्धाहरका शव पनि घटनास्थल परिपरि छरपस्ट अवस्थामा रहेका टेलिभिजनहरुले देखाएका थिए ।

सो हमलामा परी अरु कम्तीमा पनि ६० जना सर्वसाधारण घाइते भएका छन । घाइतेमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

सो हमलामा दुई जना आत्मघाती हमलाकारीको हात रहेको छ । हमलाकारीमध्येका एकजनाको आफैले विस्फोट गराएको बमबाट ज्यान गएको छ भने अर्का एकलाई प्रहरीले गोली हानी मारेको थियो । रासस÷सिन्ह्वा

 



प्रतिक्रिया दिनुहोस्