Logo

शीर्ष नेतालाई चुनावी अभियानमा खटाउने माओवादी केन्द्रको निर्णय



काठमाडौं, १८ श्रावण । बुधबार बसेको ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय बैठकले असोज २ गते हुने २ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ ।

बुधबार दिउँसो अध्यक्ष निवास लाजिम्पाटमा बसेको कार्यालय बैठकले शीर्ष नेताहरुलाई नै चुनावी अभियानमा खटाउने निर्णय गरेको छ । बैठकले अध्यक्ष क. प्रचण्डलाई सिराहा, केन्द्रीय कार्यालयका नेताहरु नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापा ‘बादल’लाई धनुषा, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा, चक्रपाणि खनाल ‘बलदेव’लाई सप्तरी, डिलाराम आचार्यलाई बारा र विश्वभक्त दुलाललाई महोत्तरी जिल्लामा खटाउने निर्णय गरेको हो ।

बैठकले सात वटै प्रदेशहरुमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई सहभागी गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेशस्तरीय बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको छ । आजको बैठकले प्रादेशिक र संघीय निर्वाचनका लागि केन्द्रीय कार्यालयका सदस्यहरुको कार्यविभाजन समेत गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्