Logo

पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शपथ लियो



इस्लामावाद, २० साउन । पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शुक्रबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएको हो । पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासी र उहाँको मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार शपथ लिनुभएको हो ।

खक्वानी तीनदिन अघिमात्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । उहाँले ४६ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोही मन्त्रिमण्डलले शुक्रबार राजधानी इस्लामावादमा पाकिस्तानी राष्ट्रपति ममनुन हुसेनसँग आफ्नो पद तथा गोपनीयताको शपथ लिएको पाकिस्तानी सरकारी टेलिभिजन, पिटीभीले जानकारी दिएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले गएको शुक्रबार प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि उहाँले राजिनामा दिनुभएको थियो ।

यद्यापी यस भ्रष्टाचारको विषयमा यहाँको न्यायिक निकायले अनुसन्धान भने जारी नै राखेका बताइएको छ । पूर्व प्रधानमन्त्री सरिफलाई अदालतले प्रारम्भिक रुपमा भने दोषी ठहराएको हो ।

त्यसपछि गत मङ्गलबार पाकिस्तानी संसदले खक्वानीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । आफू प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै उहाँले ४६ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको हो ।

तर आज सो मन्त्रिपरिषदका ४३ जनामात्र सदस्यले शपथ ग्रहण गरेको समाचारमा जनाइएको छ । यस बारेको थप जानकारी दिइएको छैन । रासस/सिन्ह्वा

 



प्रतिक्रिया दिनुहोस्