Logo

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक हुन्छ : कानूनमन्त्री थापा



काठमाडौं, २१ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्नेगरि सरकारले गृहकार्य सुरु गरेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको पनि चाहना भएको उल्लेख गर्दै दुवै निर्वाचन एकैपटक गराउनेगरि सरकारले तयारी थालिसकेको बताएका हुन् । उनले भने,‘दुवै निर्वाचन एकैपटक गर्नेबारे निर्वाचन आयोगसँगपनि कुरा भैरहेको छ, छिट्टै सरकारले आयोगको सहमतिमा मिति घोषणा गर्छ।’

उनले भने,‘निर्वाचन आयोगलाई चाहिने सबै ऐन तथा कानूनहरु दिनको लागि सरकार पूर्ण प्रतिबद्ध छ, प्रदेश र प्रतिनिधि सभालाई चाहिने ऐन तथा कानूनहरु तयार पारेर राज्य व्यवस्था समितिमा पठाईएको छ, त्यहाँ गहन छलफल भैरहेको छ, सदनमा पुग्ने वित्तिकै विद्येयक पारित हुन्छ।’ यद्धपी उनले निर्वाचन आयोगको फिडव्याक पनि सरकारले लिनुपर्ने सुझाव दिए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कानूनमन्त्रीको हैसियतले आफ्नो पहिलो प्राथमिकतामा निर्वाचनको लागि चाहिने ऐन तथा कानूनहरु समयमै निर्वाचन आयोगलाई दिनु रहेको विश्वास दिलाए ।

उनले भने,‘आगामी माघ ७ गतेभित्रै सबै निर्वाचन सम्पन्न गर्नको लागि सरकार गम्भिर छ, अब स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रदेश नम्बर २ मा बाँकी छ, त्यसपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन बाँकी छ, दुवै निर्वाचन समयमै सम्पन्न गर्नको लागि सरकार अहिलेदेखि नै लागि परिरहेको छ।’

मन्त्री थापाले निर्वाचन नगरीकन सुखै नहुने जिकिर गर्दै भने,‘निर्वाचन नगरी सुखै छैन, त्यसैले कुनै पनि सरकार निर्वाचनबाट भाग्दैन्, हामी ०७४ माघ ७ गतेभित्रै निर्वाचन सम्पन्न गराउँछौं, यसमा सबै ढुक्क भए हुन्छ।’ उनले निर्वाचन समयमै सम्पन्न गर्नको लागि हार र जितबाट माथि उठेर सबैले निर्वाचन ऐन पारित गराउने समेत विश्वास दिलाए ।
त्यस्तै उनले स्थानी तहको निर्वाचन सम्पन्न भएकोले स्थानीय शासन विद्येयक पनि जरुरत रहेकोले उक्त विद्येयकबारे संसदको विकास समितिमा अहिले छलफल भैरहेको जानकारी दिए ।

उनले भने,‘यो विद्येयकपनि तत्काल अगाडि बढाउनुपर्छ, संसदको फुल हाउसमा पेश भएपनि पारित हुन्छ।’ उनले उपप्रधान एवम् स्थानीय विकास मन्त्रीको भावना अनुसार नै समयमै स्थानीय शासन विद्येयक आउने जनाए ।

मन्त्री थापाले संविधान संशोधन प्रस्ताव पारित गराउन सरकारले भगिरथ प्रयास गरिरहेको समेत जनाए । उनले भने,‘संशोधन प्रस्ताव पारित गराउन अहिलेको सरकार गम्भिर छ, प्रधानमन्त्रीजी अहिले संशोधन प्रस्ताव पारित गराउन गम्भिर भएर लागिपरहनुभएको छ।’ संशोधन प्रस्तावमा सहमति जुटाउनको लागि सबै दलसँगपनि कुराकानी भैरहेको उनको भनाई थियो । उनले संशोधन प्रस्तावमा एमालेको पनि सहमति भए प्रस्ताव तत्काल पारित हुने बताए ।

मधेशका जायज माँगलाई सम्बोधन गर्न सबै दल जिम्मेवार भएर लाग्नुपर्ने समेत उनले आग्रह गरे । उनले अघि थपे,‘संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्छ, प्रस्ताव पारित गराउनको लागि सरकारले ईमानदार प्रयास गर्छ, गर्नुपर्छ, अब ९० प्रतिशतले जारी गरेको संविधान भनेर ९० र १० को हुण्डरी चलाएर हुँदैन्।’

त्यस्तै उनले नेपालमा अब ७७ जिल्ला हुने समेत स्पष्ट पारे । उनले भने,‘नेपालमा अब ७५ होईन, ७७ जिल्ला हुन्छन्, रुकुम र नवलपरासिलाई विभाजित गरेर ७५ बाट ७७ बनाएका छौं।’

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले मन्त्री थापालाई सम्मान गरेका थिए । धमलाले मन्त्री थापालाई मुलुक निर्वाचनको मुखमा रहेकोले बाँकी निर्वाचनहरु पनि समयमै सम्पन्न गराउनेगरि निर्वाचन आयोगलाई चाहिने आवश्यक ऐन तथा कानूनहरु उपलब्ध गराउनेगरि काम गर्न समेत सुझाव दिए ।

धमलाले भने,‘अब भाषणवाजी भन्दापनि जनताको मन जित्नेगरि राष्ट्रको आवश्यकत्ता अनुसार काम गर्नुहोस, परिणाममुखी काम गर्नुहोस्, हामी सबैको साथ र सहयोग रहन्छ।’

त्यस्तै सम्मानित भएपछि मन्त्री थापाले आफू ऋषि धमलाको आग्रहलाई हार्न नसकेर आजको कार्यक्रममा उपस्थित् भएको जनाए । उनले भने,‘ऋषिजीले बोलेपछि कसैले पनि नकार्न सक्दैनन्, मैलेपनि सकिँन, मैले मन्त्रालयको बागडोर सम्हालेको एक हप्ता भएको छ, म खासै तयारीका साथ आएको होईन, तर अर्कोपटक आउँदा ऋषिजीसँग विष्फोटन हुनेगरि ईस्यु बोकेर आउँछु।’

 



प्रतिक्रिया दिनुहोस्