Logo

स्थानीय सरकारमा महिला सहभागिता विषयक दक्षिण एशियाली महिला सम्मेलन सुरु



२२ साउन, काठमाडौँ । ‘दक्षिण एशियाली महिला सम्मेलन–२०१७’ आजदेखि काठमाण्डौमा सुरु भएको छ । दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता विषयक दक्षिण एशियाली महिला सम्मेलन आयोजना गरिएको हो ।

अखिल नेपाल महिला संघले दक्षिण एशियाका स्थानीय सरकारमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरेको सो सम्मेलनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले छोटै समयमा महिला उत्थानको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकामा खुशी व्यक्त गरे ।


अध्यक्ष ओलीले नीतिनिर्माण तहमा महिलाको समान सहभागिता गराउन आफ्नो पार्टी प्रतिबद्धता छ भन्दै महिला सशक्तीकरणका क्षेत्रमा काम भइरहेको हँुदा महिला अधिकारकर्मीलाई निराश नहुन आग्रह गरेका छन् ।

सामाजिक न्यायसहितको विकासका लागि पनि राज्यका सबै तहमा महिलाको समान सहभागिता हुनुपर्नेमा आफ्नो पार्टी सचेत रहेको उनको भनाई थियो ।
दुईदिने सम्मेलनमा सार्कका नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, बंगलादेश, श्रीलंका र अफगानिस्तानका महिला सांसद, नागरिक समाजका अगुवा र महिला अधिकारकर्मीसहित करिब ७० जनाको सहभागिता छ ।

स्थानीय सरकारमा महिला सहभागिताका विषयमा बहस गर्न र दक्षिण एशियाली महिलाको राजनीतिक अधिकारका लागि संघर्षरत महिला राजनीतिककर्मी तथा अधिकारकर्मीप्रति ऐक्यबद्धता जनाउन सम्मेलन आयोजना गरिएकोे हो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा आसामको गौहाटी विश्वविद्यालयकी प्राध्यापक जोआना मजब्बिन सहभागी थिइन् ।
कार्यक्रमको सभापतित्व अखिल नेपाल महिला संघकी अध्यक्ष गोमा देवकोटाले गर्नुभएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्