Logo

भरतपुर महानगरका प्रतिनिधिद्वारा शपथ, एमालेद्धारा बहिष्कार



चितवन, २२ साउन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको गठबन्धनका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथ ग्रहण गरेपनि नेकपा (एमाले)का तर्फबाट निर्वाचित वडा अध्यक्ष र सदस्यले भने शपथ ग्रहण गरेनन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह र वडा अध्यक्षलाई शपथ गराउनु भएको थियो । सोही अवसरमा प्रमुख दाहालले वडा सदस्यहरुलाई शपथ गराउनु भएको हो ।

प्रमुख दाहाल माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुनु भएको हो भने उपप्रमुख शाह काँग्रेसका तर्फबाट निर्वाचित हुनु भएको हो । महानगरमा एमालेले १४ वडा अध्यक्षसहित ७० सदस्य, नेपाली काँग्रेसले १२ वडा अध्यक्षसहित ६९ सदस्य र माओवादी केन्द्रले तीन वडा अध्यक्षसहित आठ सदस्य पद जितेको छ ।

एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले मतपत्र च्यात्ने र षड्यन्त्र गर्नेहरुको रोहवरमा एमाले जनप्रतिनिधिले शपथ ग्रहण नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो कार्यक्रममा मतपत्र च्यात्ने र षड्यन्त्र गर्ने पनि छन्, उनीहरुको रोहवरमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिले शपथ ग्रहण गर्दैनन् ।”

उहाँले मतपत्र च्यात्नेहरुसँगै शपथ गराउँदा लोकतन्त्रको खिल्ली उड्ने बताउँदै छुट्टै कार्यक्रमको आयोजना गरी एमालेका तर्फबाट विजयीलाई शपथ ग्रहण गराउनु पर्ने बताउनुभयो । तर प्रमुख दाहालसँग एमालेका तर्फबाट निर्वाचित वडा सदस्यले शपथ भने लिने बताउनुभयो । एमाले चितवनको आज सम्पन्न सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

भरतपुर महानगरपालिकाको वडा नं ४ र ७ का निर्वाचित दुई वडाध्यक्षले भने शपथ ग्रहण गर्न नपाउने भएका छन् । उनीहरु दुवै जना एमालेका तर्फबाट निर्वाचित भएका हुन् । दुई वडाका पराजित वडा अध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए । सोपश्चात जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नु÷नगराउनु भनी विपक्षीका नाममा आदेश दिएको थियो ।

उच्च अदालतबाट अन्तिम फैसला भई नसकेकाले वडा नं ४ का वडाध्यक्ष हरि आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेको शपथ आजका लागि रोकिएको हो । वडा नं ४ मा काँग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका उपेन्द्रराज सापकोटा सात मतान्तरले पराजित हुनु भएको थियो भने वडा नं ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित हुनु भएको थियो । कम मतले पराजित हुनु भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्दा दायर गर्नु भएको थियो ।

भरतपुर महानगरमा पहिलो चरणमा गत वैशाख ३१ गते निर्वाचन भएको थियो । मतगणनाका क्रममा वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडामा यही साउन २० गते पुनः मतदान गरिएको थियो । रासस (तस्बिर उपलब्ध छ)



प्रतिक्रिया दिनुहोस्