Logo

पुनःनिर्माण प्राधिकरण भन्छ, “५० हजार लिएर जग हाल्नुस्, अर्को डेडलाख तुरुन्तै दिन्छौँ”



भूकम्प गएको २८ महिना वितिसक्दा पनि पुनः निर्माणको काम प्रभावकारी भएन भनेर आलोचना भइरहेको छ । विशेषगरी पुनः निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आलोचित भइरहेको छ । यसै सन्दर्भमा ऋषि धमलाले प्राधिकरणका प्रमुख डा. गोविन्द पोखरेलसँग कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

पुनः निर्माणको सवालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण किन कमजोर भयो ?
केपी ओली नेतृत्वको सरकाले प्राधिकरणको संरचना नै काम गर्न नसक्ने बनाएको रहेछ । यो कुरा धेरै जनतालाई थाहा पनि छैन । इन्जिनियर खटाउने र घर बनाउने जिम्मा शहरी विकास मन्त्रालयलाई दिइएको छ । विद्यालय बनाउने जिम्मा शिक्षा मन्त्रालयको छ । स्वास्थ्य संस्था बनाउने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको छ । जनतालाई गाउँगाउँमा अनुदान पु¥याउने जिम्मा स्थानीय विकास मन्त्रालयको हो । केही समयअघि मात्रै दोस्रो र तेस्रो किस्ताका लागि ५३ अर्ब रुपैयाँ पठाइएको छ । यद्यपि प्राधिकरणले पीडितको गुनासो सम्बोधन गर्न गाउँगाउँमा ३ सयभन्दा बढि इन्जिनियर खटाएको छ ।

इन्जिनियहरहरुले काम नै पाएका छैनन् नि ? प्राधिकरणले काम गरेन, अब स्थानीय तहले नै पुनः निर्माणको काम गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ ।
स्थानीय तहसँग सहकार्य गर्नका लागि धेरै मापदण्ड बनेका छन् । हामीले स्थानीय तहमा नै रकम वा अनुदान पठाउने गरेका छौँ । गुनासो सम्बोधनका लागि पनि स्थानीय तहलाई नै बढि जिम्मेवार बनाइएको छ ।

भूकम्प गएको २८ महिना भइसक्यो । अहिलेसम्म पीडितले घर बनाउन पाएका छैनन् । तपाईहरु के हेरेर बस्नुहुन्छ प्राधिकरणमा ?
जनताले घर आफैँ बनाउने हो । ६ लाख घरपरिवारले ५० हजार रुपैयाँ लिइसकेका छन् । ५० हजार रुपैयाँ लिनेले जग मात्रै हाल्यो भने बाँकी एक लाख पचास हजार थपिदिन्छौँ । तर पैसा पाउने कतिपयले घर बनाउनका लागि चासो नै नदिएकाले पनि घर बनेका छैनन् ।

यसमा तपाईहरुकै पनि कमजोरी छैन र ?
अहिले एक लाख १५ हजार घर बन्ने क्रममा छन् । करिब ५० हजार घर बनिसकेका छन् । मापदण्डभित्र नपरेका घरको संख्या यसमा जोडिएको छैन । आगमी दशैँभित्र एक लाख पचास हजार घर निर्माण सम्पन्न हुन्छन् ।

कतिपय पीडितले त ५० हजार मात्रै पाएका छन् । बाँकी किस्ता कहिले पाउँछन् ?
५० हजार रुपैयाँ पाएर जग पनि नहाल्ने पीडितलाई बाँकी पैसा दिनै मिल्दैन । जग हाल्नेलाई त दोस्रो किस्तास्वरुप डेड लाख रुपैयाँ दिइहाल्छौँ । आफ्नै पैसा खर्च गरेर घर बनाउनेले एकमुष्ट तीन लाख रुपैयाँ पाउनुहुन्छ । राष्ट्रको ढुकुटीबाट दिइएको पैसा जनताले पनि सहि सदुपयोग गर्नुपर्छ ।

तपाईहरुले पाँच वर्षभित्र सबै पुनः निर्माणको काम सक्ने बताउनुभएको थियो । सक्नुहुन्छ ?
बाँकी अवधिमा पुनः निर्माणको काम सक्नका लागि तीन खर्व रुपैयाँ खाँचो पर्छ । सरकारले त्यो पैसा व्यवस्था गरिदिने हो भने घर बनाउन चाहने घर बनाइसक्छन् । ठूलाठूला सम्पदा, विद्यालय, अस्पताल लगायतका पुनः निर्माण गर्न पर्ने सबै काम गर्न सकिन्छ ।

अझै पनि खुला आकाशमुनि पीडित बस्न बाध्य छन् । यसको अन्त्य कहिले हुन्छ ?
यो पिडा हामीले पनि सुनेका छौँ । त्यसैले म विनम्र अनुरोध गर्दछु । जसले ५० हजार लिनुभएको छ, उहाँहरुले जग राखिदिनुस् । त्यसपछि दोस्रो किस्ताका लागि निवेदन दिनुस् । हामी डेडलाख तुरुन्तै दिन्छौँ ।



प्रतिक्रिया दिनुहोस्