गायिका केसी ‘एनआरएन’ कतारको उपाध्यक्षमा भिड्ने

0
Shares

कतार दोहा, २३ साउन। गैर आवासिय नेपालीसंघ कतारको आउँदो २०१७–२०१९ कार्यकालका लागि चर्चित गायिका देवीका के.सी.गुरुङले उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी छन्।

विगत ४ बर्षदेखि कतारमै बस्दै आएकी गायिका गुरुङले गायन क्षेत्र सँगसँगै एनआरएनएको प्रतिनिधि भएर समाजसेवामा लाग्ने बताएकी छन्।
अन्तराष्ट्रिय कलाकार मञ्चकी सल्लाहकार समेत रहेकी गायिका केसीले भनिन्,‘एन.आर.एन’जस्तो साझा संस्थामा महिलाहरूको नेतृत्व होइन कि सहभागिता समेत निकै कम्जोर छ,एनआरएन एनसीसी प्रति नेपाली महिलाहरूको आकर्षण बढाउन पनि मेरो उमेदवारी जरुरी ठानेकी छु ।’

उनले आफ्नो उम्मेदवारी महिला सहभागिता मात्रै नभएर महिला पुरुष समान हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने दावेदारी भएको बताइन् ।

हजारौ नेपाली श्रमीक दिदीबहिनी तथा दाजुभाईहरुको उपस्थिति रहेको कतारको नेपाली समुदायमा महिला श्रमीकहरूको पारिश्रमीक, शारिरिक, मानसिक रुपमा भोग्नु परेका समस्यालाई हल गर्न र पीडितका पक्षमा उभिन, नेतृत्व तहबाट नै दबाब दिनको लागि संस्थामा महिलाको प्रतिनिधित्व हुनु जरुरी रहेको बताइन् ।

रिपोर्टर्सनेपालसँगको कुराकानिमा उनले भनिन्, ‘खाडी मुलुक कतारमा धेरै नेपाली महिलाहरू पनि कार्यरत हुनुहुन्छ, विभिन्न माध्यमबाट उहाँहरूले पनि नेपाली समाजमा उल्लेख्य योगदान पुर्याउदै आउनु भएको छ । यद्यपि सामाजिक संघ संस्थाको नेतृत्व तहमा महिलाहरूको उपस्थिति निकै कमजोर अवस्थामा रहेको छ ।’

उनले भनिन्‘एनसीसी कतारको इतिहासमा पहिलो पटक महिलाले उपाध्यक्षमा दावेदारी गरेकी यो केवल दावेदारी मात्रै नभएर अनिवार्य पनि देखिएकोले यहाँ सबैको साथ र सहयोगको अपेक्षा सहित आफ्नो उमेदवारी दिएकी हुँ ।’