Logo

कमल थापामाथि आरोप लगाउँदै पशुपतिशमशेरले राजतन्त्र र हिन्दुराष्ट्रबारे मुख खोले



राष्ट्रिय प्रजातन्त्र पार्टी किन फुट्यो भन्ने कुरा सबैको चासोको विषय बनेको छ । करिब ८ महिनाअघि एकता गरेका कमल थापा र पशुपतिशमशेर राणाबिच अहिले पानी बाराबारको स्थिती छ । एक अर्कालाई आरोप लगाएर आफु ठीक छु भन्ने दौडमा थापा र राणा देखिएका छन् । कमल थापाले राणालाई धेरै आरोप पनि लगाएका छन् । राप्रपा विभाजन हुनुको खास कारण के हो त ? यही कुरा खोतल्ने प्रयास ऋषि धमलाले गर्नुभएको छ । राप्रपाबाट अलग्गिएर राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता गराउनुभएका नेता पशुपति शमशेर जबरासँग धमलाले विशेष कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

तपाईहरु शेरबहादुर नेतृत्वको सरकारमा जाने तयारीमा हो ?
अहिले सरकारमा जाने विषयमा कुरा भएको छैन । त्यस्तो केही तयारी पनि छैन । हामीले सरकारलाई समर्थन चाँही गरेका छौँ । सरकारमा जाने विषयको चाँही ठेगान भएको छैन ।

सरकारमा जानकै लागि पार्टी फुटाउनुभएको भन्ने आरोप कमल थापाले लगाएका छन् । यसबारे के भन्नुहुन्छ ?
उहाँले केके आरोप लगाउनुहुन्छ, त्यसको कुनै अर्थ छैन । उहाँलाई ठूलो चोट परेको छ । त्यसैले उहाँले जे पायो त्यही बोल्नुहुन्छ ।

पार्टी त फुटाउनुभयो । तर तपाईसँग ४० प्रतिशत हिस्सा छैन भनेर कमल थापाले चुनौति दिइरहेका छन् । अब के गर्नुहुन्छ ?
मसँग के बल छ, त्यो प्रमाणित गरिदिन्छु । निर्वाचन आयोगमा चाहिने संख्या हामी पु¥याउँछौँ ।

सात जना त केन्द्रिय सदस्य नै नभएकाको हस्ताक्षर गराउनुभएको रैछ नि ?
यो सरासर गलत कुरा हो । हावा कुरा गरिराछन् । निर्वाचन आयोगमा लगेको हस्ताक्षर कसैले किर्ते गर्छ ? संसारमै नभएको कुरा, कमल थापाले कल्पना गर्ने कुरा होला, म त सोच्दा पनि सोच्दिन ।

कमल थापाले भन्नुभएको छ नि ?
कमल थापाले झुटो कुरा गर्नुभएको हो । नचाहिने कुरा गरेर हुन्छ ? हामीसँग चालिस प्रतिशत पुगेको छ । उहाँको आरोप फटाहा कुरा हो ।

कमल थापाले त ४० प्रतिशत केन्द्रिय सदस्यको समर्थन नरहेको हुँदा पार्टी दर्ता खारेज गर्न माग गर्नुभएको छ ।
उहाँको यो कुरा निराधार र कपोकल्पित छ । उसको काम नै यस्तै निराधार कुरा गर्दै हिँड्ने हो । ठूलो चोट लागेको हुनाले यस्ता कुरा गरिएको हो ।

तपाईसँग अहिले कति जना सासंद छन् ?
अहिलेको अवस्थामा १९ जना सासंद मसँग छन् ।

सबैलाई मन्त्री बनाइदिन्छु भनेर ल्याउनुभएको हो ?
हामीले कसैलाई मन्त्रीको लोभ देखाउनै पर्दैन ।

पार्टी फुटाउनुपर्ने कारण चाँही के हो ?
पहिलो कुरा, अहिले जुन ढंगले उहाँले पार्टी संचालन गर्नुभयो, त्यसबाट चिढिएका मन्छे धेरै छन् । केही भन्नै पर्दैन, त्यसै आइरहेका छन् । कमल थापाको नेतृत्वमा पार्टीले स्थानीय निकायको चुनावमा लज्जास्पद हार बेहो¥यो । हारको जिम्मेवारी पनि उहाँले लिन चाहनुभएन । कतिपय साथीहरु स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्नुपर्ने अवस्था आयो । दोस्रो कुरा, आधारभूत सम्झौता अनुसार पार्टी सचालन भएन । लोकेन्द्र बहादुर चन्द, कमल थापा र मबिचमा सबै कुरामा सल्लाह गरेर मात्रै निर्णय गर्ने भनिएको थियो । त्यसो गरिएन । तेस्रो कुरा, हलोलाई हाम्रो चुनाव चिन्ह बनाउने सम्झौता थियो । त्यसको विपरित गाईलाई बनाइयो । यि कुराहरुले गर्दा पार्टी फुटाइएको हो । पार्टीलाई जोगाउनका लागि यो कदम चालिएको हो ।

तपाईले नेपाललाई हिन्दु राष्ट्र बनाउन नदिने चलखेल गर्नुभएको आरोप पनि कमल थापाले लगाएका छन् । खास कुरा के हो ?
यो सरासर गलत र कपोकल्पित कुरा हो । उहाँले हारको चोटमा यस्तो कुरा गर्नुभएको हो । हामी हिन्दुराष्ट्रको पक्षधर नै हौँ ।

तपाईहरु अब गणतन्त्रवादी हो ?
यो मुलुक पृथ्वीनारायण शाहले नबनाएको भए बन्दै नबन्ने मुलुक हो । त्यसैले राजसंस्थाप्रति मेरो श्रद्धा छ । यो विषयमा पार्टीभित्र बहस जारी छ ।

अब तपाईहरुले जनमत लिन सक्नुहुन्छ त ?
हामी अब नयाँ पहलका साथ अगाढि बढ्छौँ । प्रजातन्त्रको संरक्षण गर्न अगाडि बढेको पार्टी हो । प्रजातान्त्रिक पार्टीहरुसँग मिलेर अघि बढ्छौँ ।

नेपाली कांग्रेससँग आगामी चुनावमा तालमेल गर्ने हो ?
त्यसमा हाम्रो पहल हुनेछ । भोली गएर के हुन्छ त्यो आफ्नै ठाउँमा छ । वृहत प्रजातान्त्रिक एकताको कुरा हामीले गरेका छौँ ।

संविधान संशोधनका लागि तपाईहरु सकरात्मक भूमिकामा देखिने हो ?
त्यस विषयमा हामी छलफल गर्दैछौँ ।

तपाईले सासंद किन्नुभयो रे । केन्द्रिय सदस्यलाई १० लाख रुपैयाँ दिएर ल्याउनुभयो भन्ने आरोप छ नि ?
हार्ने मान्छेको रन्थनिएको बोली हो । मैले कसैलाई पनि किनेको छैन ।

अन्तर्राष्ट्रिय शक्ति केन्द्र समेत पार्टी फुटाउन लागेको आशंका गरिएको छ नि ?
फाल्टु कुरा गरेर हिँड्छन् ।

कमल थापाले यस्तो आरोप किन लगाउनुभयो त ?
यो कुन ठूलो कुरा हो र ? जुन ढंगबाट उहाँको तर्फबाट पार्टी संचालन भयो, त्यसबाट स्वतः स्फुर्त रुपमा पार्टीभित्र चिन्ता र असन्तुष्टी थियो । ६ वटा प्रदेशको स्थानीय तहको चुनावमा लज्जास्पद हार भयो । त्यसबाट धेरै मान्छे चिन्तित छन् । त्यसैले पार्टीभित्रको आन्तरिक असन्तुष्टीको नतिजा हो । त्यसैले कमल थापाले केके गल्ती गरेँ भन्ने कुराको आत्मसमिक्षा गर्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्