Logo

आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध –प्रधानमन्त्री देउवा



काठमाडौँ, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघद्धारा आज २३ औँ विश्व आदिवासी दिवस–२०७४ का अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले आदिवासी जनजातिलाई संविधानमै अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालका आदिवासी जनजातिलाई संविधानले विशेष हकअधिकार दिएको छ, त्यो हकको सदुपयोग गर्नु जरुरी छ ।”

नेपाल धेरै जातजातिको फूलबारी भएको उल्लेख गर्दै उहाँले सबै जातिहरु मिलेर बसेको हुँदा विश्वकै लागि नेपाल भेषभूषा, संस्कृति र भाषामा आकर्षणको केन्द्र भएको बताउनुभयो ।

“प्रत्येक जातिको अलग भाषा, संस्कृति, भेषभूषा छ, ती सबैको संरक्षण गर्नुपर्छ, त्यो नै आदिवासी जनजातिको पहिचान हो”–प्रधानमन्त्री देउवाले भन्नुभयो ।

स्थानीय तहको निर्वाचनमा पनि महिला, जनजाति, दलित र पछाडि परेको क्षेत्रका लागि विशेष व्यवस्था गरेको भन्दै उहाँले सबै जातिको हक अधिकार सुनिश्चित गर्न पहल भइरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने आदिवासी जनजातिहरुले आफूहरुलाई अल्पसंख्यक वा अन्य जातिमा राखेको हुनाले संविधान संशोधन गर्नुपर्ने माग गरेका थिए ।

‘अधिकार प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नाराका साथ आदिवासी जनजाति दिवस मनाइएको हो ।

 

तस्बिर-मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्