Logo

उपभोक्ताको हित विपरितका माग अघि सार्दै आन्दोलन गर्ने नेपाल पेट्रोलियम डिलर्सको चेतावनी



साउन २६, काठमाण्डौ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले उपभोक्ताको हित विपरित आन्दोलन गर्ने चेतावनी दिएका छन् । अत्यावश्यक वस्तु मानिने इन्धन आपूर्तिमा व्यवसायीले मनपरी गर्ने संकेत देखिएपछि बजार प्रभावित हुने भएको छ । एशोसियसनले माग पूरा नभए २६ गतेदेखि देशभरका डिपोहरुबाट पेट्रोलियम पदार्थ उठाउन बन्द गर्ने र ३१ गतेदेखि बिक्री वितरण बन्द गर्ने चेतावनी दिएको छ ।
अझ रोचक त के छ भने एशोसियसनले उपभोक्ता ठगिने गरी तेल वितरण गर्न पाउनुपर्ने माग समेत बुँदामा समावेश गरेको छ । पेट्रोल पम्पमा तेल भर्दा देखिने अंकभन्दा कम परिमाणमा तेल वितरण भए पनि कारबाही नगर्न माग गर्दैै आन्दोलन घोषणा गरेको छ । डिस्पेन्सिङ पम्पबाट कम तेल आउनुलाई प्राविधिक गडबडी भन्दै कारबाही नगर्न माग गरेको हो ।
बुधबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएका मागहरुमध्ये एउटा बुँदामा ‘गुणस्तर तथा नापतौल कार्यालयबाट वा अन्य आधिकारिक निकायबाट बजार अनुगमन हुँदा डिस्पेन्सिङ पम्पमा लगाइएको सिल दुरुस्त हुँदाहुँदै प्राविधिक कारणले परिमाण घटीबढी भएमा पम्पलाई कारबाही नगरी तत्काल क्यालिब्रेशन गरिदिनुपर्ने ।’ भनिएको छ ।
यो मागले उपभोक्तालाई ठग्ने मागका रुपमा लिइएको छ ।
पेट्रोलपम्पमा तेल भर्दा देखिने अंक भन्दा नोजलबाट झर्ने तेल कम परिमाणको हुने गरेको उपभोक्ताको गुनासो छ । गुनासोअनुसार बजार अनुगमन गर्दा पम्प सञ्चालकले सिल तोडेर परिमाण घटबढ गराएको पाइएको थियो ।
एशोसियसनले बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको परिमाण अनुसारकै परिमाण प्राप्त हुनपर्ने अथवा कम हुन जाने सम्पूर्ण परिमाण निगमले समायोजन गरिदिनुपर्ने, निगमको पूर्वाधार समय सापेक्ष सुधार गर्नुपर्ने र सबै डिपोहरुमा लोडिङ अनलोडिङ प्वाइन्ट तथा मौजदात क्षमता बढाउनुपर्ने माग पनि गरेको छ ।
यसअघि पनि पटकपटक आफ्ना माग अघि सार्दै इन्धन वितरण ठप्प पार्ने चेतावनी दिदै आएको एशोसियसनले नेपाल आयल निगमसँग वार्ता गरे पनि निश्कर्षमा पुग्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्