Logo

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री : रणनीति र एजेण्डा के ?



साउन २६, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला के कस्ता मुद्दा उठाउने भन्नेमा अन्यौल देखिएको छ । पछिल्लो समय भारत र चिनबिचको सम्बन्ध जटिल अवस्थामा पुगेकाले पनि नेपालले उठाउने मुद्दाले त्रिदेशिय सम्बन्ध प्रभावित हुने देखिन्छ ।

भारत भ्रमणलाई हरेक पटक नेपालका प्रधानमन्त्रीले चुनौति र अवसरका रुपमा लिने गरे पनि जनता खुशी हुने गरी केही उपलब्धि भएको पाइदैन । विशेषगरी नेपाल–भारतबिचको कुटनितिक सम्बन्ध सुमधुर बनाउन सके आर्थिक रुपमा बलियो बन्दै गएको भारतबाट धेरै फाइदा लिन सकिने टिप्पणी धेरैले गर्नेगरेका छन् । तर भारतले नेपालमाथि गर्ने हस्तक्षेपका कारण नेपाल सधै तल परेको देखिन्छ ।


पछिल्ला वर्षहरुमा नेपाल–भारतबिचको व्यापार घाटा बढ्दै जाँदा यसतर्फ पनि प्रधानमन्त्रीले चासोका साथ कुरा उठाउनुपर्ने देखिन्छ ।
नेपालको कुल वैदेशिक व्यापारमध्ये दुई तिहाइ व्यापार भारतसँग हुने गर्छ । भारतमा नेपाली वस्तुहरु निर्यातको तुलनामा झण्डै १० गुणासम्म भारतीय वस्तुहरु आयात गरिँदै आएको छ । यही कारण भारतसँग नेपालको व्यापार घाटा उच्च छ ।

गत वर्ष भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोडको वस्त आयात गरिएको छ । तर, यस अवधिमा भारततर्फ ४१ अर्ब ६० करोडको मात्र वस्तु निर्यात भएको छ । एक वर्षमै भारतसँग पाँच खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।
नेपालका उद्योगि व्यवसायीले पनि बारम्बार नेपाल–भारतबिचको व्यापार घाटा नियन्त्रण गर्न नसके नेपालको आर्थिक विकास कठिन हुने बताउँदै आएका छन् । त्यसैले यो विषयलाई भारत भ्रमणका अवसरमा उठान गर्नुपर्ने देखिन्छ ।

यतिखेर दुई शक्तिराष्ट्र चीन र भारतबीचको सम्बन्धमा उतारचढाव आइरहेको छ ।
चीन, भारत र भुटान तीन मुलुकको सीमा जोडिएको दोक्लम क्षेत्रमा चीन र भारतका लगभग तीन हजार सैनिक आमनेसामने भएर बसेका छन् । चीनले भारतीय सैनिक त्यहाँबाट पछि नहटेसम्म स्थिति सामान्य नहुने जनाएको छ । भुटानको अनुरोधमा आफ्ना सेनालाई त्यस क्षेत्रमा पठाएको भारत अहिल्यै पछि हट्ने पक्षमा छैन । यो द्वन्द्व तत्काल बढेर दुई मुलुक युद्धमा जाने सम्भावना भने कमै रहेको विश्लेषकहरुले बताएका छन् ।
यो अवस्थामा नेपालले कसको पक्ष लिने वा कस्तो रणनीति लिने भन्ने कुरा महत्वपूर्ण हुन्छ । चिन र भारतले आफ्नै तरिकाले नेपाललाई आफ्नो पक्षमा पार्ने प्रयास सधैँ गर्दै आएका हुन् । पछिल्लो विवादमा पनि दुई देशले नेपाललाई प्रयोग गर्ने सम्भावना देखिन्छ । यस्तो अवस्थामा नेपालले कस्तो रणनीति लिने भन्ने कुरा संवेदनशील हुन्छ । भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कुटनीतिक सम्बन्धलाई विशेष ध्यान दिनु जरुरी छ ।
प्रधानमन्त्री देउवाले अवको दुई सातापछि (भदौ ७ ) भारत भ्रमण गर्ने तयारी गरेका छन् । दुई छिमेकीवीच बढ्दो तनावकावीच प्रधानमन्त्री देउवाको भारत भ्रमण विवादमा तानिने हो कि भन्ने चिन्ता पनि गरिएको छ ।
देउवाका भारत भ्रमण अगाडि चीन र भारतबाट उच्चस्तरी भ्रमण हुँदैछन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि साउन २६ गते भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदैछिन् । उनी विमेस्टेक बैठकमा सहभागी हुन नेपाल आउन लागेकी हुन् । भ्रमणका बेला हुने भेटमा डोकलाम विवाद पनि संवादमा रहन सक्ने बताइएको छ ।
स्वराजको भ्रमणलगत्तै चिनियाँ उपप्रधानमन्त्री औपचारिक भ्रमणमा नेपाल आउँनेछन् । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ (साउन ३०) मा नेपाल आउँदैछन् ।

देउवाको आसन्न भारत भ्रमण नयाँ विषयमा सम्झौता या सहमति गर्नुभन्दा पनि विगतमा भएकै सहमतिलाई कार्यान्वयनमा लैजान केन्द्रित हुनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

अर्कोतिर भारत र चीनबीच तनाव उत्पन्न भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्न हुने या नहुने बहस कूटनीतिक संयन्त्रमा सुरु भएको छ । परराष्ट्र मन्त्रालयका केही अधिकारीले वर्तमान समयमा दुवै छिमेकमा भ्रमण गर्ने विषयमा गम्भीर विचारविमर्श गर्नुपर्ने औंल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्