Logo

चुनावका लागि तालमेलदेखि पार्टी एकतासम्मको प्रयासमा प्रमुख दलहरु



साउन २६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि तालमेलदेखि पार्टी एकतासम्मको प्रयास थालेको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएर छुट्टै दल गठन गरेका मोहन वैद्य र बाबुराम भट्टराईलाई औपचारिक रुपमा नै एकताका आह्वान यसअघि नै गरेका थिए ।


स्थानीय तहको चुनावमा कमजोर नतिजा आएपछि दाहालले पार्टी एकताको इच्छा देखाएका हुन् । चुनावमा मोहन वैद्य र बाबुराम भट्टराईको नेतृत्वमा रहेका दलले पनि हार बेहोरेपछि एकता हुन्छ कि भन्ने अनुमान गरिएको छ । तर वैद्य र भट्टराइले तत्काल एकताको कुनै सम्भावना नरहेको बताउँदै आएका छन् । यद्यपी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केही नेताहरु भने पार्टी निकै कमजोर भएको भन्दै एकता गर्नुपर्नेमा जोड दिन थालेका छन् ।

नयाँ शक्तिका प्राभावशाली नेता देवेन्द्र पौडेलले दाहाल सच्चिए वा केही शर्त पूरा गरे पार्टी एकता हुन सक्ने बताएका थिए । दाहालले एकताको प्रस्ताव गरेपछि नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले एकताको आवश्यकता रहेको संकेत गरेका थिए ।
दाहालले फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छादारलाई समेत पार्टी एकताको प्रस्ताव राखेको बताइएको छ । यद्यपी यस विषयमा स्पष्ट कुरा सार्वजनिक भएको छैन ।

माओवादी केन्द्रले दुई चरणको स्थानीय तहको चुनावमा तालमेल गरेको कांग्रेसले भने अब माओवादीसँग तालमेल नगर्ने संकेत गरेको छ । यसअघिको तालमेलमा सोचेजस्तो नतिजा नआएपछि कांग्रेस पछि हटेको हो ।

केन्द्रका अध्यक्ष दाहालले उपेन्द्र यादवसँग पनि चुनावी तालमेलका लागि प्रस्ताव गरेको बताइएको छ ।


यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्थानीय तहको तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टीसँग तालमेल गर्ने संकेत गरेको छ । तर राजपा संविधान संशोधन गरेर आफ्ना माग पूरा नभएसम्म चुनावमा भाग नलिने अडानमा भएकाले तालमेलको सम्भावना ज्यादै कम देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्