Logo

युरोपियन च्याम्पियनमा रियलको सान



एजेन्सी२६ साउन । बिहीबार मेसेडोनियास् स्पेनिस ‘पावर हाउसु रियल म्याड्रिडले यूईएफए सुपर कप फुटबल प्रतियोगिताको उपाधि जोगाएको छ। रियलले बुधबार खेलिएको फाइनलमा बलियो इङ्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै उपाधि हात पारेको हो।

अघिल्लो संस्करणको उपाधि पनि रियलले नै जितेको थियो। त्यतिबेला रियलले फाइनलमा अर्को स्पेनिस क्लब सेभिललाई हराएको थियो।
ला लिगा च्याम्पियनसमेत रहेको रियल युरोपियन च्याम्पियन्स लिगको विजेता पनि हो।

खेल सुरु भएको २४औं मिनेटमै रियलका लागि कासेमिरोले पहिलो गोल गरेका थिए। सोही गोलका कारण रियल पहिलो हाफमा अगाडि रह्यो। रियलका लागि दोस्रो गोल ५२औं मिनेटमा इस्कोले गरेका थिए।

नचेस्टर युनाइटेडका लागि ६२औं मिनेटमा रोमेलु लुकाकुले एक गोल फर्काएका थिए। यसै सिजन ठूलो धनराशिमा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका लुकाकुले आफ्नो नयाँ क्लबका लागि खेलेको यो पहिलो प्रतिस्पर्धात्मक खेल हो।

रियल सन् १९९० पछि यूईएफए सुपर कपको उपाधि लगातार दुईपटक जित्ने पहिलो टोली पनि बनेको छ। सन् १९८९ र सन् १९९० मा इटालियन सिरिए क्लब एसी मिलानले लगातार दुईपटक सुपर कपको उपाधि हात पारेको थियो । म्यानचेस्टर युनाइटेडले भने सन् १९९१ पछि सुपर कपको उपाधि जित्न सकेको छैन। चर्को गर्मीका कारण मेसेडोनियाको राजधानी सहरमा बुधबार खेलिएको फाइनल खेलका क्रममा खेलाडीलाई दुईपटक विश्राम दिइएको थियो।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले यो सिजन १४ करोड ६० लाख पाउन्ड खर्च गरेर भित्राएका तीनैजना प्रभावशाली खेलाडीलाई रियलविरुद्घ मैदानमा उतारेका थिए ।

मोउरिन्होले नयाँ सिजनमा उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित एभर्टनबाट स्ट्राइकर लुकाकुलाई सात करोड ५० लाख पाउन्ड, चेल्सीबाट मिडफिल्डर नेमान्जा माटिचलाई चार करोड पाउन्ड र बेनफिकाबाट डिफेन्डर भिक्टर लिन्डलफलाई तीन करोड १० लाख पाउन्डमा म्यानचेस्टर युनाइटेडमा भित्राएका थिए। यसका बाबजुद मोउरिन्होको रियललाई जिल्याउने चाहना पूरा हुन सकेन ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले भने च्याम्पियन्स लिगको फाइनलमा युभेन्ट्सविरुद्घ उतारेको टोलीलाई नै म्यानचेस्टर युनाइटेडविरुद्घ पनि अवसर दिएका थिए। स्टार पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भने खेलको अन्त्यतिर मात्र परिवर्तित खेलाडीका रूपमा मैदानमा उतारिएको थियो। प्रारम्भदेखि नै म्यानचेस्टर युनाइटेडलाई दबाबमा राखेको रियलका खेलाडीले समग्रमा ६३ प्रतिशत समय बललाई आफ्नो नियन्त्रणमा राखेका थिए।

नचेस्टर युनाइटेडले अब आगामी आइतबार इङ्लिस प्रिमियर लिगमा वेस्टहाम युनाइटेडसँग आफ्नो पहिलो खेल खेल्नेछ । यसैगरी रियल म्याड्रिडले पनि आइतबार नै चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग नोउ क्याम्पमा स्पेनिस सुपर कपको पहिलो लेग खेल खेल्नेछ।

 



प्रतिक्रिया दिनुहोस्