Logo

राजसंस्थासहितको लोकतन्त्र स्थापित गर्ने कमल थापाको दाबी, पशुपतिशमशेरलाई भने, ”लोभीपापी र सत्तामुखी”



राष्ट्रिय प्रजातन्त्र पार्टी किन फुट्यो भन्ने कुरा सबैको चासोको विषय बनेको छ । करिब ८ महिनाअघि एकता गरेका कमल थापा र पशुपतिशमशेर राणाबिच अहिले पानी बाराबारको स्थिती छ । एक अर्कालाई आरोप लगाएर आफु ठीक छु भन्ने दौडमा थापा र राणा देखिएका छन् । राप्रपा विभाजन हुनुको खास कारण के हो त ? कमल थापाको अबको बाटो कस्तो हुन्छ ? यही कुरा खोतल्ने प्रयास ऋषि धमलाले गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग धमलाले विशेष कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

तपाईको पार्टी फुट्यो । के गर्दै हुनुहुन्छ ?
पार्टी फुट्नु दुखद र दुर्भाग्यपूर्ण घटना हो । यतिबेला राष्ट्रलाई प्रजातान्त्रिक र राष्ट्रवादी शक्तिको आवश्यकता थियो । यो आवश्यकता परिपूर्ति गर्नका लागि राष्ट्रियता र हिन्दु राष्ट्रको एजेण्डा बोकेर राप्रपा यो देशको बलियो शक्ति बनेको थियो ।  राप्रपालाई बलियो बनेको देख्न नचाहनेहरुले षडयन्त्र गरेका हुन् ।  राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिकेन्द्र र गिरोहले यो पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेका थिए । त्यसेको श्रंखलाको पछिल्लो कडि हाम्रो पाटीमा भएको घटना हो ।
तपाईको पार्टी कसले फुटायो ?पार्टी फुटाउनेको अघिल्लो अनुहार अर्थात देखिने अनुहार त सबैले देखेकै छन् । मूल रुपमा के हो भने खास गरी ६२–६३ सालको परिवर्तनपछि मुलुकको राष्ट्रिष्यतालाई कमजोर बनाउने र विखण्डनतर्फ लैजानका लागि बाह्य शक्तिको चलखेल र प्रभावलाई तिब्र रुपले बढाउने चलखेल  एकातिरबाट भइरहेको थियो । अर्कोतर्फ योजनाबद्ध र संगठित रुपले धर्म निरपेक्षताको आडमा नेपालको हिन्दुराष्ट्रको पहिचानलाई समाप्त पार्ने काम भइरहेको थियो । यो अवस्थामा राष्ट्रियता र हिन्दुराष्ट्रको एजेण्डालाई बोकेर बैकल्पिक शक्तिको रुपमा राप्रपा प्रस्तुत भइरहेको थियो । दुईवटा पार्टी एकीकरण पछाडी यो झन ठूलो शक्ति बन्यो । यो शक्ति खडा भयो भने आफ्नो उद्देश्य पूरा हुन सक्दैन भनेर नेपाललाई आफ्नो प्रभावमा राख्न चाहने र हिन्दुराष्ट्र बनाउन नचाहने राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुले योजनावद्ध रुपमा प्रयास गरेका थिए । त्यो प्रयासमा हाम्रा पार्टीका केही स्वार्थी, लोभिपापी, आत्मसमर्पणवादी, भ्रष्ट र सत्तामुखी व्यक्तिहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको हो ।

तपाईकै कारणले पार्टी फुटेको भनेर पशुपतिशमशेर राणाले आरोप लगाउनुभएको छ नि ? तपाईले एकलौटी ढङ्गले पार्टी चलाउनुभएको हो ?

पार्टी कसरी चलाउने भन्ने विषयमा उहाँलाई यदी चिन्ता थियो भने पार्टीभित्रै बसेर छलफल गरेर उपयुक्त निकायबाट समाधान खोज्न सकिन्थ्यो । राप्रपा विधि र विधानबाट चल्ने पार्टी हो । तर उहाँले यस्ता असन्तुष्टी वा केरो कार्यशैलीका बारेमा कहिल्यै पनि बैठकमा कुरा गर्नुभएन । वास्तवमा भन्ने हो भने कतिपय विषयहरु उहाँकै सल्लाहका अगाडि बढाइरहेका थियौँ । त्यसैले यस्ता कुरा बहाना मात्रै हो । खासमा राष्ट्रवादी र हिन्दुराष्ट्रका पक्षधरलाई कमजोर बनाउने षडयन्त्र मात्रै हो ।

त्यसो हो भने पार्टी फुट्नुको कारण कमल थापा कि पशुपति शमशेर राणा ?

जहासँम्म मेरो कमी कमजोरी थियो भने त मलाई पनि हटाउन सक्ने व्यवस्था थियो नि । छलफल गरेर समाधान हुन सक्थ्यो । मैले पशुपतिलाई एक पटक तपाई चलाउनुहुन्छ भने त्यसतर्फ पनि सोचौँ भनेको हुँ । त्यसैले अब त्यतापट्टी जान चाहन्न । एउटा दुर्घटना घटिसकेको छ । हामीमाथि प्रहार भएको छ । यो प्रहारलाई हामी सशक्त ढंगबाट प्रतिवाद गर्दै अगाडि बढ्छौँ । विगतमा हामीबाट केही कमी कमजोरी पनि भएका छन् । हाम्रो बारेमा कतिपय भ्रम पनि रहेका छन् । कमजोरी सच्याउने र भ्रमलाई निराकरण गर्दै एउटा राष्ट्रवादी र हिन्दुराष्ट्रवादी पक्षधरको रुपमा गाउँ गाउँमा गएर, जिल्ला जिल्लामा गएर जानतालाई जागरुक बनाएर कार्यकर्तालाई उत्साहित बनाउँछु । राप्रपालाई आउने संसद र प्रदेशको चुनावमा बलियो शक्तिको रुपमा स्थापित गराउँछु ।

तपाईले पुराना एजेण्डा छोड्नुभयो भन्ने आरोप लाग्छ । गणतन्त्र छोड्ने र संघियता स्विकार्ने काम त गर्नुभयो नि ?

पार्टी एकीकरणपछि पशुपतिशमशेरसँगको सल्लाहपछि केही फरक राजनीतिक लाइनबाट हिँड्ने प्रयास ग¥यौँ । त्यसले आम जनतामा भ्रम परेको छ । पशुपति शमशेरले धेरै अगाडिबाट नै पार्टी फुटाउने कसरत गर्नुभएकै हो । तर हामीले पार्टी जोगाउनका लागि केही सम्झौता गर्न बाध्य भयौँ । तर अब हामी सच्चिन्छौँ । हामी राप्रपाको मौलिक ठाउँमा आउँछौँ । हामीले विगतमा गरेका गल्तीलाई सच्याउँछौँ । नेपालमा राजसहितको प्रजातन्त्रको आवश्यकता छ । विगतका कुराबाट पाठ सिकेर अगाडि बढ्छौँ ।

तपाईले गणतन्त्रात्मक संविधानको अन्तराष्ट्रिय मञ्चमा समेत गएर प्रशंसा गर्नुभएको थियो नि ? अब कसरी राजतन्त्रमा फर्किनुहुन्छ ?

कुनैपनि संविधान पूर्ण हुँदैन । नेपालको संविधान पनि एकदमै उत्कृष्ट र पूर्ण छ भनेर भनेको छैन । हाम्रै मान्यताहरु संविधानमा स्थापित भएको छैन । केही कमीकमजोरीका बाबजुत पनि विश्वका प्रजातान्त्रिक मूल्य मान्यतालाई नेपालको संविधानले आत्मसात गरेको छ । मैले संसारभरी जोड दिएर भनेको एउटा कुरा केहो भने समानुपातिक र समावेशिकताका कुरा छ, त्यो विश्वका कतिपय संविधानभन्दा नेपालको संविधान धेरै प्रगतिशिल र अग्रगामी छ । यो कुरा म अहिले पनि भन्न सक्छु । संविधानले फरक विचार बोक्ने अधिकार दिएको छ । आफ्ना एजेण्डालाई जनतामाझ लगेर जनमत लिन सकेको खण्डमा त्यो स्थापित हुन सक्छ । अहिले पनि राप्रपा राजसंस्थासहितको लोकतन्त्र र हिन्दुराष्ट्रमा अडिग छ ।

राजसंस्था त अब सम्भव छैन नि ?

असम्भव वा सम्भव भन्दा पनि आवश्यकता छ कि छैन भन्ने कुरा हो । अर्को कुरा हाम्रो एजेण्डा एकातिर छ । देशमा नयाँ संविधान छ । संविधानले धर्म निरपेक्षता र गणतन्त्रलाई स्थापित  गरेको छ । अब हामीले संविधानले दिएको अधिकारको प्रयोग गरेर आफ्ना मुद्दा स्थापित गछौँ । हाम्रा कुरा जनतामाझ लैजान्छौँ र स्थापित गराउँछौँ ।



प्रतिक्रिया दिनुहोस्