Logo

खाल्टाखुल्टी पुर्ने कार्यमा तीव्रता–प्रमुख पराजुली



विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरका खाल्टाखुल्टी पुर्ने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ ।

विराटनगर महानगरपालिकाले आज महानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नगर क्षेत्रका १५ हजार विद्युतीय खम्बामा चिम जडान गर्ने तथा अवरुद्ध भएका नाला खोलेर पानी निकासको कार्यलाई तीव्रता दिने बताउनुभयो ।

प्रमुख पराजुलीले नगरसभा बैठक भदौ १८ गते बस्ने जानकारी गराउँदै करको दर वृद्धि नहुने तर करको दायरा बढाउन सकिने स्पष्ट पार्नुभयो ।

कृष्णजन्माष्टमीको भोलीपल्ट विराटनगरमा हुने ऐतिहासिक रथयात्राको अवसरलाई ध्यानमा राखेर साउन ३१ गते स्थानीय बिदा दिने पनि उहाँले जानकारी गराउनुभयो ।

यसका साथै, नगर प्रमुख भीम पराजुलीको अध्यक्षतामा नगरको कूल आय प्रक्षेपण तथा सोको सन्तुलित विवरणको खाका तयार गर्न बजेट सीमा निर्धारण समिति गठन गरिएको छ भने उपप्रमुख इन्दिरा कार्कीको अध्यक्षतामा राजश्व परामर्श समिति र बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको छ ।

यसैबीच महानगरपालिकाको तेस्रो बैठकले सातवटा विभिन्न प्रकारका समितिसमेत गठन गरेको छ । जसअनुसार, सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा विनोदकुमार बस्नेत, सामाजिक विकास समितिको संयोजकमा बलदेव यादव, पूर्वाधार विकास समितिको संयोजकमा देवेन्द्रराज पोखरेल रहनुभएको छ ।

त्यस्तै विधेयक समितिको संयोजकमा मीनकुमार आचार्य, आर्थिक विकास समितिको संयोजकमा मनोज सुब्बा, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा विजय कामत र बजार अनुगमन समितिको संयोजकमा निश्चल आचार्यलाई चयन गरेको छ ।

सो अवसरमा महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले नगरको सरसफाइ, फोहर व्यवस्थापन, खाल्टाखुल्टी पुर्ने, चिम जडानलगायतका विषयमा जानकारी गराउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्