Logo

प्रस्ताव कुनै हालतमा पारित हुँदैन: एमाले सचिव ज्ञवाली



काठमाडौं, २७ साउन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुननसक्ने ठोकुवा गरे । रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने बताएका हुन ।

उनले भने,‘एमालेसँग परामर्श विना सरकारले दाउपेचको विषय बनाएर बढ्नुले नयाँ संकट बढाउँदैछ ।’ एमालेले चासो राखेको गम्भीर विषयलाई समेत बेवास्ता गरेर विधयेक संसदमा प्रस्तुत गरिएको बताए । विधयेक पास भए जस लिने र फेल भए एमालेलाई दोष देखाउने रणनीति बनाइएको उनको भनाई थियो ।

पछिल्लो समय दलहरूबीच दूरी बढाउने र देशमा नयाँ धु्रवीकरण गराउने खेलहरू भइरहेको बताए । ज्ञवालीले भने,‘संविधान संशोधन प्रस्तावलाई राजनीतिक कार्डका रूपमा प्रयोग गरी एमालेलाई एम्बुसमा पार्ने, मधेशविरोधी देखाएर प्रोपोगाण्डा गर्ने र तराईको सेन्टिमेन्ट जित्ने रणनीति लुकेको छ । संविधान संशोधन प्रस्ताव बारे एमाले गम्भीर छलफल गरेर अगाडि बढ्न तयार भएको उनको भनाई थियो ।

जस्तोसुकै चलखेल गरेपनि प्रदेश नम्बर दुईको स्थानीय चुनावमा एमाले पहिलो पार्टी हुने दाबी गरे । वर्तमान सरकारले गराउने प्रदेश र संसदको चुनावमा भाग लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘यसै सरकारले चुनाव गराओस् एमाले चुनावबाट भाग्दैन बहुमत ल्याएर सरकार चलाउनेछ ।’

चिकित्सा क्षेत्रको विकृतिविरूद्ध डा.गोविन्द केसीले गरिरहेको अनशनको मनशाय गलत नभएको बताए । समस्याको तत्काल समाधान खोजिनुपर्ने तर चिकित्सा क्षेत्रमा लगानी गरेकाहरूलाई समेत अन्यायमा पार्न नहुने उनको भनाई थियो । मध्यमार्गी बाटोबाट समाधान निकाल्नुपर्नेमा उनको जोड थियो ।

उनले भने,‘सरकारले हिजो गरेको गल्तीको भागिदार सर्वसाधारण र लगानीकर्ता हुनुहुँदैन । लगानी खरिद हुनुपर्छ ।’ अनसनलाई आधार बनाएर एमालेलाई लाञ्छित बनाउने क्रियाकलाप भइरहेकोप्रति आपत्ति जनाए । उनले भने,‘गोविन्द केसीका नाममा एमालेलाई लाञ्छित गर्ने घटिया राजनीति भइरहेका छन् ।’



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम