Logo

उत्तर कोरिया मोहले माधव नेपाल अप्ठ्यारोमा



काठमाडौं, २७ साउन । कम्युनिष्ट शासन रहेको राष्ट्र उत्तर कोरिया सधै विवादमा आइरहन्छ । भूगोलका दृष्टिले नेपालभन्दा सानो भएपनि शक्तिका दृष्टिले नेपालभन्दा बलियो छ । विश्वकै महाशक्ति अमेरिकालाई समेत धम्की दिइरहन्छ ।

आणविक अस्त्र रहेको उत्तर कोरियाले बेला बेलामा मिसाइल परिक्षण गरेर विश्वको ध्यानाकर्षण गराउँछ । उत्तर कोरियाको खुफिया एजेन्सी कति प्रभावशाली छ भन्ने विषय पछिल्लो समय त्यहाँका राष्ट्रप्रमुख किम जोङ उनको निर्देशनमा उनकै दाजु किम जोङ नामको हत्या गर्न लगाएको भनिएको घटना बुझ्दा थाहा हुन्छ ।

त्यहाँको खुफिया एजेन्सीले मलेशियाको राजधानी क्वालालाम्पुर विमानस्थलमा उलका दाजुको हत्या गर्दा दुईजना विदेशी महिलालाई प्रयोग गरेको थियो । उनीहरूलाई टेलिभिजन कार्यक्रमका लागि रोमाञ्चक दृश्य बनाउने भन्दै केही सय डलर दिएर घातक पाउडर छर्न लगाएको थियो । हत्या गर्न लगाइएको बारे ती महिला समेत अज्ञात रहेको तथ्य बाहिर आयो । यद्यपि ती महिलाहरूलाई पक्राऊ गरी अनुसन्धान जारी राएिको छ ।

सानो भएपनि शक्तिशाली देश उत्तर कोरियाले विश्वभरका कतिपय देशहरूमा गनेचुनेका नेताहरूसँग बलियो सम्बन्ध बनाएको छ । उसले ती नेता र देशका नागरिकलाई उत्तर कोरिया भ्रमणमा निम्त्याउने समेत गर्छ । त्यहाँको शहरी क्षेत्र र विकास देखाएर पठाउँछ ।
नेपालसँग कुटनीतिक सम्बन्ध रहेपनि उत्तर कोरियाप्रति संशयहरू छन् ।

अमेरिकासँगको तनाव बढेपछि कोरिया प्रायद्विपमा युद्धको खतरा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वले कहिले नदेखेको आक्रमण गर्ने चेतावनी दिइसके । यस्तो तनावका बाबजुद देशका प्रधानमन्त्री भइसकेका माधवकुमार नेपाल उत्तर कोरियाको भ्रमणमा निस्किएका छन् । भ्रमण रोक्न परराष्ट्र मन्त्रालय देखि परराष्ट्रविद्हरूले आग्रह गर्दा समेत पछि हटेनन् ।

माधव नेपाल किन उत्तर कोरिया जान लालायित भए भन्ने सवाल आएको छ । विदेश घुम्न पाए अवस्था र मर्यादा समेत भुल्ने स्वभाव बनाएका नेताहरू बिहिबार नै उत्तर कोरिया पुगिसके । शुक्रबार माधवकुमार नेपाल उड्ने कार्यक्रम रह्यो ।

युनिभर्सल पिस फाउण्डेशनका नाममा राजनीतिक गर्दै आएका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समेत उत्तर कोरियाको राजधानी प्योङयाङ पुगिसके । उनै ढकालले नेपाललाई विगतमा पनि विदेश घुमाउँदै आएका छन् । ढकालले धेरै नेताहरूलाई विवादमा पार्ने गर्छन् । यसपटक पनि उत्तर कोरिया पु¥याउन उनै ढकालले भित्री भूमिका खेलेका थिए ।

माधवनेपालको भ्रमणलाई लिएर सुरक्षा सम्वद्ध अधिकारीहरू समेत गम्भीर भएका छन् । यस घटनाले माधवकुमार नेपालको राजनीतिक जीवनमा धक्का पुग्ने एक पूर्व सैनिक अधिकारी बताउँछन् । अमेरिकासँग तनाव बढिरहँदा र कुनैपनि बेला युद्ध हुने अवस्था रहँदा पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले उत्तर कोरियाको भ्रमण गरे नकारात्मक सन्देश जाने उनको भनाई थियो ।

पछिल्लो समय एमालेभित्रको प्रतिपक्ष रहँदै आएका नेपालको राजनीतिक कमजोर बन्दै गइरहेको छ । उत्तर कोरिया भ्रमण प्रकरणले उनको कुटनीतिक क्षमतामा समेत प्रश्न गर्न थालिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्