Logo

यसरी भासिए बाबुराम । अबको बाटो के ?



साउन २८, काठमाण्डौ । संविधान जारी भएलगत्तै संविधानप्रति नै असन्तुष्टी जाहेर गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी पार्टी नै परित्याग गरे । मधेशीले असन्तुष्टी जनाएको संविधानलाई उनले पनि असन्तुष्टी व्यक्त गरेर मधेशी जनताको सद्भाव बटुल्ने प्रयास समेत गरे । मधेशमा अभियान नै चलाएर भाषण गर्दै हिँडे । देशभरी नयाँ पार्टी खोल्ने अभियानमा बहसमा उत्रिए । अन्ततः नयाँ शक्तिको नाममा दल गठन गरे । धेरैले बाबुरामको पार्टीलाई आशाको किरणको रुपमा हेरेका थिए । भट्टराई आफै पनि निकै उत्साहित थिए । तर विस्तार पार्टी क्षयिकरण भएर अहिले संकटमा पुगेको छ ।

नयाँ शक्तिको निर्माणमा लागेका भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक नयाँ अध्याय सुरु गरेका भट्टराई आफ्नो अभियानमा असफलताको संघारमा पुगेकभा छन् ।
शुक्रबार मात्रै उनलाई औपचारिक रूपमा रामचन्द्र झा, रामकुमार शर्मालगायत मधेसी नेताले साथ छाडेका छन् ।

तीन दशक बढी समय कम्युनिस्ट पार्टीमा बिताएका उनले ०७२ असोज ९ देखि भने आफैंले योगदान गरेको माओवादीबाट अलग्गिएका थिए । तर, उनले बनाउन खोजेजस्तो नयाँ शक्ति दुई वर्षको यो अन्तरालमा बन्न नसकेपछि अहिले उनलाई साथ दिन पुगेका नेता नै धमाधम पार्टीबाट बाहिरन थालेका छन् ।
उनलाई पार्टी निर्माण अभियानमा सहयोग गर्ने प्रमुख पात्रहरू देवेन्द्र पौडेल, रामचन्द्र झाले साथ छोडेका छन् । गैर राजनीतिबाट नयाँ शक्तिमा आवद्ध भएका रामेश्वर खनाल, मुमाराम खनाललगायत नेता पहिल्यै उनीबाट अलग भइसकेका छन् ।

सबैभन्दा विश्वासपात्र भनिएका देवेन्द्र पौडेलले पार्टी र भट्टराईप्रतिको असन्तुष्टी सार्वजनिक रुपमा नै व्यक्त गरेपछि सम्बन्ध झन चिसिएको छ । पार्टीले देबेन्द्र पौडेल लगायतका नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेपछि पार्टी टुक्रिने सम्भावना प्रबल देखिएको हो ।

पार्टी बैठकमा कुनै फरक मत नराखेको तर, पत्रकार सम्मेलन गरेर पार्टीको विचार, नेतृत्व र कार्य्दिशाबारे भ्रामक धारणा सार्वजनिक गरेको भन्दै नयाँ शक्तिले २४ घन्टे स्पष्टिकरण सोधेको हो । यि घटनाक्रमले अब नयाँ शक्ति कमजोर हुने मात्र होइन, लक्ष्य प्राप्तीको यात्रा नै धरमराउने देखिएको छ ।

स्थानीय तहको चुनावपछि उपेन्द्र यादवसँग पार्टी एकता गर्न लागेका भट्टराई त्यसमा पनि सफल भएनन् । यदी पार्टी एकता भएको भए पौडेल, झा लगायतका नेता अहिलेको मनस्थितिमा पुग्ने थिएनन् ।

विगतमा अर्थमन्त्री हुँदा गरेका केही कामले जनताको मन जित्न सफल भट्टराईले नयाँ शक्ति गठनपश्चात भने जनमत लिन सकेनन् । स्थानीय तहको चुनावमा आएको नतिजाले पनि नयाँ शक्तिलाई संकटमा पु¥याएको हो । चुनावमा यदी सन्तोषजनक नतिजा आएको भए रामचन्द्र झा, देवेन्द्र पौडेल लगायतका प्रमुख नेताहरु वितलित हुने थिएनन् । तर चुनावको नतिजा कमजोर आएपछि केही नेताहरुको धैर्यता नदेखिदा नयाँ शक्तिमा पहिरो जान लागेको हो ।

अबका दिनमा भट्टराईले कस्तो रणनीति लिन्छन् र नयाँ शक्ति पार्टीको औचित्य कसरी पुष्टी गर्छन्, त्यो आगामी दिनले नै बताउला । तत्कालका लागि भने माओवादी छाड्नु नै गल्ती थियो कि भन्ने समिक्षा गर्नुपर्ने बेला आएको छ ।



प्रतिक्रिया दिनुहोस्